PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ग्रेडिङको अलमल : आमाले सोधिन्- कुन डिभिजन? सपना आफै अन्यौलमा

ग्रेडिङको अलमल : आमाले सोधिन्- कुन डिभिजन? सपना आफै अन्यौलमा

सविन ढकाल/पहिलोपोस्ट



काठमाडौँ : सिन्धुपाल्चोकको चण्डेश्वरी माविबाट एसएलसी दिएकी सपना श्रेष्ठ दिउँसो आफ्नी आमालाई लिएर सानो थिमिस्थित परीक्षा नियन्त्रण कार्यालय पुगिन्। एसएलसी रिजल्ट आउने कुराले एकदिन अघि नै मनमा कौतुहल छाएको थियो सपनाको। रिजल्ट हेरे पछि पनि त्यो कायमै रह्यो। उनले एसएलसीमा ३ दशमलव ५८ जिपिए ल्याइन्। यो थाहा पाएपछि उनको अनुहारमा न त खुसी देखियो न त दुःख नै। बरु उनलाई अलमल गरायो। 

उनीसँगै रहेकी आमाले पनि केही बुझिन। छोरीलाई सोधिन् - यो कुन डिभिजन हो?  सपना आफै त अलमलमा थिइन्, आमालाई कसरी बुझाउनु? 

मातृभूमि इङ्ग्लिस् बोर्डिङ स्कुलबाट एसएलसी दिएका प्रकाश ओझा पनि परीक्षा नियन्त्रण कार्यलयको आँगनमा अल्मलमा नै थिए। खै यो ए प्लस हो कि बी, के हो के? पहिलेको जस्तै भए कति राम्रो हुन्थ्यो। हुन त उनले पनि यसपटकको एसएलसीमा ए श्रेणी ल्याएका हुन्। तर उनी पनि यहि दुविधामा थिए। 

त्यही भीडमा रहेका डेविड पाख्रिन पनि एसएलसीको ग्रेडिङ प्रणालीप्रति त्यति खुसी थिएनन्। भन्दै थिए, 'पढ्नेलाई भन्दा नपढ्नेलाई पो राम्रो भयो, फेल नहुने रैछ। खै विद्यार्थीमा प्रतिस्पर्धाको भावना नै मार्ने भयो यसले।'

पनिकामा नै भेटिएका राज भट्टको तर्क भने फरक थियो। उनी भन्दै थिए , परीक्षामा फेल भएकै कारण आत्महत्या गर्नेलाई भने यो प्रणालीले कम गर्नेछ। त्यस्तै मेहनत गर्नेको लागि यो प्रणाली राम्रो हुने उनको दावी थियो। 

१९९० सालदेखि अंकमा आधारित परीक्षाफल प्रकाशन विधि यसपटक भने तोडिएको छ। यस पटक कोही पनि पास फेल भएनन्। परीक्षामा सहभागी सबैको रिजल्ट जिपिएमा आयो। तर शुरुदेखि नै विद्यार्थीलाई गेडिङ प्रणाली बारे प्रष्ट पार्न नसक्दा अन्यौल यथावत् छ।

​कुन ग्रेडको अर्थ के ?
९० – १०० A+ Outstanding जिपिए ४.०
८० – ९० भन्दा कम A Excellent जिपिए ३.६
७० – ८० भन्दा कम B+ Very good जिपिए ३.२
६० – ७० भन्दा कम B Good जिपिए २.८
५० – ६० भन्दा कम C+ Above average जिपिए २.४
४० – ५० भन्दा कम C Average जिपिए २.०
२० – ४० भन्दा कम D Below average जिपिए १.६
१ – २० भन्दा कम E Insufficient जिपिए ०.८
० N Not Graded जिपिए ०

परीक्षा नियन्त्रण कार्यालय परिसरमा इलिट जोशीले खिचेका केही फोटो


ट्रेन्डिङ पोस्ट

Ncell