PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

फेसबुक लभको परिणाम : बिहे हुन सकेन, केटा प्रहरी हिरासतमा



सविन ढकाल

फेसबुक लभको परिणाम : बिहे हुन सकेन, केटा प्रहरी हिरासतमा

काठमाडौँ : अभय र सुनीता (नाम परिवर्तन) को झण्डै एक वर्ष अफेयर चल्यो। अभय विदेशमा, सुनीता नेपालमा। फेसबुकमा भएको भर्चुअल भेटले उनीहरुलाई यतिसम्म नजिक्यायो कि केही समयपछि अभय सुनितालाई बिहे गर्न भन्दै स्वदेश फर्कियो। 

सुनीतालाई पनि सँधै फेसबुकको च्याटमा भेट भइरहेका अभयलाई भेट्न हतार भइसकेको थियो। उनी पनि आफ्नो मायालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमै पुगिन्। करिब एक साता उनीहरुले सँगै बिताए। यस क्रममा उनीहरु शारीरिक रुपमै पनि नजिकिए। त्यो अन्तरंग क्षणलाई उनीहरुले मोबाइलमा कैद पनि गरे। 

दुवै जना विवाहको कुरा गर्न आ-आफ्नो गाउँतिर लागे। पछि के भयो कुन्नि,  सुनिताले गाउँमा घरपरिवारले नै रोजेको केटासँग नै विवाह गर्ने भई। 

यता अभयले सुनितासँग सम्बन्ध हुँदा खिचिएका अश्लील फोटा तथा भिडियो फेसवुक तथा युट्युबमा राख्दिने भन्दै धम्काउन थाल्यो। सुनीताले प्रहरीमा उजुरी दिइन्। अहिले अभय हिरासतमा छन्। 

अभय र सुनीताको जस्तै घटना राजन र कमला (नाम परिवर्तन) को जीवनमा पनि भएको छ। कमलाले आफूलाई धोका दिएको भन्दै राजनले फेक आइडी बनाएर अश्लील फोटाहरु सार्वजिनक गर्न थाल्यो। उनी पनि पछि पक्राउ परे। 

प्रविधिको विकाससँगै फेसबुकजस्ता सामाजिक सञ्जालबाट हुने अपराध बढ्दै गएको महानगरीय अपराध अनुसन्धानका डिएसपी पशुपति राय बताउँछन्। आर्थिक वर्ष २०७१/७२ मा मात्र ३ सय ९ वटा मुद्दा साइबर क्राइमको दर्ता भएकोमा यो वर्ष त्यो संख्या बढेर ७ सय ८ नाघेको छ। 

डिएसपी रायका अनुसार साइबर क्राइममा पनि फेसबुकसँग सम्बन्धित अपराध सबैभन्दा बढी छ। कूल मुद्दाको आधा हिस्सा फेसबुकसँग कुनै न कुनै रुपमा सम्बन्धित भएको राय बताउँछन्। २० देखि ३० वर्षका उमेर समूहका युवायुवती यस्ता अपराधको शिकार बनिरहेको उनी बताउँछन्। 

नेपालमा साइबर क्राइमसम्बन्धी कुनै कानुन नबनिसकेको भए पनि इकमर्सलाई व्यवस्थित बनाउन ल्याइएको विद्युतीय कारोबार ऐनअन्तर्गत यस्ता मुद्दा चलाइने गरेको छ। यो ऐन अन्तर्गतको सुनुवाई काठमाडौँ जिल्ला अदालतमा मात्रै हुने प्रावधान छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell