
काठमाडौं : वर्षैभर जस्तो पर्व र जात्रा हुने काठमाडौं उपत्यकामा अर्को एउटा जात्रा थप हुने भएको छ।
असार ५ गतेदेखि सुरु हुने सो जात्राको 'रथ' काठमाडौंको असन-इन्द्रचोक वरिपरि घुम्नेछ।
सामन्यत: खुसीयाली, रौनक, उमंग, लडाइँ, विजय र खुसीको कथा बोक्ने जात्राले यसपटक भने सुख, खुसी, सन्तुष्टिपछि आउने समस्या, दु:ख, पीडाको कथा पनि समेट्नेछ।
यो जात्रामा भने सबै पात्र तथा कथा काल्पनिक हुन्।
कथामा तीन खुद्रा व्यापारी हुन्छन्, जो आफ्नो जीवनसँग खुसी छन्, सन्तुष्ट छन्। पसलबाट हुने आम्दानीले उनीहरुको जीवन सामान्यपूर्वक चलिरहन्छ। तर अचानक केही समस्या आइलाग्छ। यही कारण उनीहरुको सुख गायब हुन्छ, दु:खसँग लड्न बाध्य हुन्छन्।
षट्कोण आर्टस प्रालिको दोस्रो प्रस्तुतिको रुपमा छायांकन सुरु हुन लागेको फिल्म 'जात्रा' को कथा हो यो। फिल्म असार ५ गतेदेखि फ्लोरमा जाँदैछ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बन्न लाएको फिल्मलाई सिङ्गे लामा र यादव पौड्यालले निर्माण गरेका हुन्।
कात्तिक १९ गतेबाट प्रदर्शनमा आउने जात्रामा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सुष्मिता कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।