भवानी राणा उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष हुन्। व्यवसायमा व्यस्त रहे पनि युरो कपको लहरले उनलाई पनि छोएको छ। पहिलोपोस्टका उमेश पौडेलसँग कुरा गर्दै राणाले आफ्नो युरो अनुभव यसरी सुनाइन्-
पहिला पहिला फुटबल अझ धेरै हेर्थेँ। अहिले पनि हेर्न त हेर्छु तर व्यवसाय र अफिसको कामले गर्दा अलि बिजी नै हुन्छु। क्वार्टरफाइनल र त्यसपछिका खेलहरु भने नियमित नै हेर्छु। सुरुमा टिमले वार्मअप गरे जस्तै म पनि कुन टिमले जित्छ, सुरुमा त खेल नै हेर्छु।
फेभरेट टिम
मेरो अहिलेसम्म फेभरेट टिम तय भइसकेको छैन। फ्रान्स, स्पेन, जर्मनी, बेलायत प्रायः सबैको गेमहरु हेर्ने गर्छु। मेरो फेभरेट टिम खेल नहेरी तय हुँदैन। खेल हेर्दै जाँदा फेभरेट टिम पनि सँगसँगै आउने कुरा हो नि, हैन र?बाजी
मैले धेरै देशको खेलमा बाजी थाप्ने गरेकी छु। यसपालि पनि बाजी जित्नुछ। त्यही भएर टिम डिसाइड गर्न पनि बाँकी रहेको छ। मैले बेट गर्दा धेरै पटक जितेको नै छु। इटालीले युरोकप जित्दा ५० हजार रुपैयाँ जितेकी थिएँ। अरु गेमहरुमा पनि कहिले २५ हजार, कहिले ३० हजार पनि जितेकी छु। गएको सिजनमा एक लाखसम्म बेट गरिएको थियो। जितियो पनि। तर यो नितान्त आफन्तमा मात्रै हो। म बाहिरको कसैसँग बेट गर्दिनँ।रमाइलो
फुटबल खेल भनेको के हुँदो रहेछ भने एक किसिमको रिफ्रेस नै गर्दिने क्या। राति हुने गेम आफ्नो परिवार र नजिकका आफन्तसँग बसेर हेर्दा रमाइलो र मजा नै छुट्टै आउने।मन परेको टिम माथि क्वार्टरफाइनलसम्म आइपुग्यो भने राति जुनसुकै टाइममा होस् हेरिन्छ। नो डाउट यसमा। राति खेल भए पनि केही समस्या छैन। सबै जना बसेर हेर्ने हो। मन लाग्नेले हेर्ने, मन लागेन भने सुत्ने हो। तर राति प्रायः हामी खेल सकेरमात्र सुत्छौँ, फेभरेट आयो भने त सक्किगो नि, हैन र?
प्राय:जसो फेमिली र साथीहरुसँग बसेर हेर्ने गर्छु। मेरो ज्वाइँहरु हुनुहुन्छ, साथीभाइ, श्रीमान छोराछोरीसँग बसेर हेर्दा छुट्टै रमाइलो पनि हुन्छ र हामी प्रायः रमाइलो नै गर्छौ।
हामी धेरै गसिप पनि गर्छौ। सेमिफाइनल वा क्वाटरफाइनल कसले खेलिरहेको छ। कुन टिमको सपोर्ट गर्ने भनेर हामी धेरै बेरसम्म, अझ भनौँ कहिलेकाहीँ त वारै पर्ला जसरी आफ्नो टिमको सपोर्ट गरिन्छ।
जोस
म युरोकपको फ्यान नै हुँ। म कलेज पढ्दादेखि नै प्रायः युरोकप र वर्ड् कपका खेलहरु हेर्थेँ। हामी पहिलेदेखि नै बेट गर्थ्यौँ। गोल हानेका बेला चिच्याउँथ्यौँ। त्यही त हो नि कलेजको उमेरमा, जो पनि अलि जोसिलो नै हुन्छ।मलाई म्याराडोना निकै मन पर्छ। मेरो कलेजको बेला ऊ निकै हिट प्लेयर थियो र अहिले पनि मलाई उसले गोल गरेको याद आउँछ। अहिलेका प्लेयरले मेरो मन जित्न सकेका छैनन्। रोनाल्डो, मेस्सी मन पर्छ तर फेभरेट भन्ने छैन। पहिले खेल हेर्छु त्यहाँ न्यु कमर रहेछ भने र मेरो मन जित्न सक्यो भने उसैलाइ सपोर्ट गर्छु।