PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पर्सामा नौ डाक्टर पक्राउ, अपहरण शैलीमा पक्रेको भन्दै स्वास्थ्य सेवा ठप्प



राधेश्याम पटेल

पर्सामा नौ डाक्टर पक्राउ, अपहरण शैलीमा पक्रेको भन्दै स्वास्थ्य सेवा ठप्प

वीरगञ्ज : नारायणी उपक्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत नौ जना डाक्टरहरुलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ। 

चिकित्सकहरुलाई अपहरण शैलीमा पक्रेको भन्दै वीरगन्जको स्वास्थ्य सेवा ठप्प पारिएको छ। त्यहाँका औषधी पसल, क्लिनिक, एम्बुलेन्स बन्द गरिएको छ। नारायणी र नेसनल अस्पतालका ओपिडी कक्ष पनि बन्द गरिएको छ। 

पक्राउ परेका चिकित्सकहरुलाई के कारण पक्राउ गरिएको भन्ने बारे जानकारी नगराइए इमर्जेन्सी सेवासमेत ठप्प पार्ने चिकित्सक संघ पर्साका सचिव डा. राजदेश कुशवाहाले पहिलोपोस्टलाई बताए। 

पक्राउ परेका डाक्टरहरुमा कोषराज गिरी, मोहम्मद रहुल्ला, विनय शाह, सरोज सि‌ह, अरुणकुमार गुप्ता, पानालाल पटेल, निमेष रमन पाल, इर्सादुल हक, दिनेश साह रहेका छन्। यी मध्ये छ जना नारायणी अस्पतालमा कार्यरत डाक्टर हुन् भने तीन जना नेसनल मेडिकल कलेजमा।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका फिरोज बस्नेतको कमान्डमा रहेको टोलीले पर्सा प्रहरीको सहयोगमा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। 

उनीहरुलाई कडा सुरक्षाका साथ काठमाडौँ पठाइएको छ। पक्राउ पर्ने बित्तिकै उनीहरुलाई केही समय जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। त्यहीँ परिवारलाई लुगाफाटा मगाएर भेटेपछि उनीहरुलाई काठमाडौँ पठाइएको हो। 

प्रहरीले हालसम्म उनीहरुलाई किन पक्राउ गरेको भन्ने विषयमा औपचारिक रुपमा केही नबताए पनि नक्कली प्रमाणपत्र कारण हुनसक्ने प्रहरी निकट स्रोतले बताएको छ। 







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell