PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​गिरिजाको 'ग्राण्ड डिजाइन' फेरि चर्चामा, रामचन्द्र भन्छन्- 'हुँदैछ उपलब्धि समाप्त पार्ने खेल'



रमेश वाग्ले

​गिरिजाको 'ग्राण्ड डिजाइन' फेरि चर्चामा, रामचन्द्र भन्छन्- 'हुँदैछ उपलब्धि समाप्त पार्ने खेल'

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ग्राण्ड डिजाइन भइरहेको बताएका छन्। नेपाल प्रेस युनियन महिला विभागले गरेको महिला पत्रकारको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले देशमा फेरि ग्राण्ड डिजाइन हुन लागिरहेको बताए।

'म यतिबेला हाम्रा स्वर्गीय सभापति गिरिजाबाबुलाई सम्झिरहेको छु, उहाँले पहिले भन्ने गरेजस्तै उपलब्धि सिध्याउन यहाँ 'ग्राण्ड डिजाइन' भइरहेको छ' पौडेलले भने, 'देशका लागि जिम्मेवार हुनुपर्नेहरु नै जिम्मेवार बनिरहेका छैनन्।' 

उनले अहिलेसम्म प्राप्त उपलब्धि जिम्मेवार ठाउँबाट नै समाप्त पार्न लागिरहेको बताए।
 
पौडेलले विगतमा पनि एमाले नेतृत्वको नौ महिने सरकारकै पालामा भएको बेला ग्राण्ड डिजाइनले माओवादी युद्धको आधार तयार भएको र त्यसको परिणाम देशले धेरै दुःख पाएको भन्दै अहिले पनि एमाले नेतृत्वको सरकारकै समयमा ग्राण्ड डिजाइन भइरहेका बेला जिम्मेवार काम नभएको बताए।

पौडेलले विगतमा माओवादी सशस्त्र युद्धका समयमा जस्तै अहिले पनि भौतिक सम्पत्तिको विनास भएको भन्दै सरकार त्यसको नियन्त्रणमा पनि उदासीन बनिरहेको बताए। 

'यहाँ फेरि पनि विनास गरेर देश विकासको गतिलाई रोक्ने र फेरि देशलाई बर्बादीमा धकेल्ने षड्यन्त्र भइरहेको छ' पौडेलले भने, 'तर सरकार त्यसलाई नियन्त्रण गर्ने र राष्ट्रिय सहमति गर्नुको सट्टा सहमति भाँड्ने खालका गतिविधि गरिरहेको छ।'

मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय सहमतिलाई भाँजो 

नेता रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले गरेको निर्णयले राष्ट्रिय सहमतिलाई सहयोग नगर्ने बताए। पौडेलले प्रधानमन्त्रीलाई राजनीतिक सहमतिका आधारमा काम गर्न दिएको सल्लाह विपरीत निर्णय लिएर राष्ट्रिय सहमतिलाई भाँड्न खोजेको आरोप लगाए। 

'मैले सहमतिमा संविधान अनुरुपका कानुन निर्माण गर्न राजनीतिक दलहरुबीच छलफल चलाउने विषयमा प्रधानमन्त्रीसँग पटक पटक प्रस्ताव गरेको थिएँ' पौडेलले भने, 'तर उहाँले छलफल चलाउन चाहनुभएन तर मन्त्रिपरिषदबाट एकलौटी रुपमा निर्णय गर्नुभयो भन्ने सुन्दैछु।' उनले प्रधानमन्त्रीको कदमले राष्ट्रिय सहमति निर्माण हुने भन्दा पनि सहमतिको संभावनालाई नै कमजोर बनाउने बताए। मन्त्रिपरिषद्को हिजोको बैठकले संविधान कार्यान्वयनको कार्यतालिका सार्वजनिक गरेको थियो। 

'हामीले धेरै समस्या सहेर सबैलाई एक ठाउँमा उभ्याएर संविधान जारी गर्ने वातावरण निर्माण गरेका थियौँ' पौडेलले भने, 'वामपन्थीदेखि दक्षिणपन्थीसम्मलाई एक ठाउँमा नल्याएको भए संविधान निर्माण नै संभव हुने अवस्था थिएन।' उनले संविधान जारी गरेर पनि कार्यान्वयन नभए त्यसको अर्थ नहुने बताए।

'संविधान कार्यान्वयनका लागि अहिले राष्ट्रिय सहमति आवश्यक हो। सत्तामा भागवण्डाका लागि हैन' पौडेलले भने,'तर यहाँ कुरा राष्ट्रिय सहमतिको गर्ने तर सहमति नहुने काम आफैले गर्दै जाने प्रवृति देखिएको छ।' उनले प्रधानमन्त्री जिम्मेवार नबन्नु राष्ट्रकै लागि खतरापूर्ण भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell