फ्रान्समा जारी युरो कपको नतिजा खेलको अन्त्यतिर छिनोफानो हुने लहरै चलेको छ । कि खेल सकिन केही समय अगाडी कि त इन्जुरी टाइममा खेलको नतिजा नै फेरबदल हुने गरी गोल भइरहेका छन् । जसले खेलको नतिजा नै उथलपुथल बनाइदिएको छ ।
ठिक यस्तै भयो आज भएको दुई खेलमा । पहिलो खेलमा इटलीले खेल सकिन दुई मिनेट अगाडी गोल गर्दै स्वीडेनलाई हरायो । दोस्रो खेलमा इन्जुरी टाइममा पेनाल्टी पाएपछि त्यसलाई गोलमा परिणत गर्दै चेक रिपव्लिकले बराबरी खेल्दै क्रोएसियासँग अंक खोस्यो ।
क्रोएसियाले पहिले दुई गोलको अग्रता बनायो । तर त्यसलाई कायम राख्न सकेन र इन्जुरी समयमा गोल खाँदै बराबरीमा रोकियो । खेलको ३७ औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई पहिले अग्रता दिलाए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको क्रोएसियाले दोस्रो हाफ लगत्तै गोल थप्यो । ५९ औं मिनेटमा इभान राकिटिकले गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर पारे ।
तर दुई गोलले अघि रहेको क्रोएसियाले अग्रतालाई कायम राख्न सकेन र चेक रिपव्लिकले पुनरागमन गर्यो । ७६ औं मिनेटमा चेकका मिलान स्कोडाले गोल गर्दै गोल अन्तर छोट्टाउने काम गरे । निर्धारित समयको खेलमा क्रोएसियाले २–१ को अग्रता जोगायो तर इन्जुरी समयमा त्यसलाई जोगाउन सकेन ।
खेलको ८६ औं मिनेटमा क्रोएसियाका समर्थकले मैदानमा आगो र पटक फालेका थिए जसले गर्दा केहिबेर खेल अबरुद्ध बनेको थियो ।
इन्जुरी टाइमको पाँचौ मिनेटमा चेकले पेनाल्टी पायो । त्यसलाई वैकल्पिक खेलाडी तोमस नेसिडले सजिलै गोलमा परिणत गर्दै खेल २–२ को बराबरीमा पुर्याए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएसँगै चेक र क्रोएसियाले अंक बाँडे ।
बराबरीपछि पनि दुई खेलबाट चार अंक जोडेको क्रोएसिया समूह डीको शीर्ष स्थानमा छ भने चेक एक अंक सहित तेस्रो स्थानमा छ । आजै स्पेनले टर्कीसँग खेल्दैछ ।