चार्लीसँग फ्रेण्डसिप नहुँदासम्म कनिका वाइफाईको पासवर्ड फेरे जस्तै फ्रेण्डहरु फेर्ने गर्थी। चार्ली हिंडेपछि धेरै केटाहरुले कनिकासँग फ्रेण्डसिपको आशा गरेका थिए। कसैले तारिफ गर्ने बित्तिकै रमाउने स्वभाव थियो कनिकाको।
यसपटक त्यसो भएन। चार्ली हिंडेपछि कनिकाको मन र लाइफ स्टाइल दुवै बदलियो। उदासीले ढाकेको थियो उसको मन। चार्लीलाई धेरै मिस गरेकी थिइ उसले। थाहै नपाई चार्लीको माया गडेको थियो मनमा। त्यो कोल्ड ड्रिंकको स्ट्र थिएन जो ग्लासको ड्रिंक सकिने बित्तिकै फ्याँकियोस्। मायाको फूलबारीबाट फुत्त उखेलिने बिरुवा थिएन त्यो। कनिकाले बल्ल चाल पाएकी थिइ, सी लभ्स चार्ली टू मच। जतिबेला उसलाई यो रियलाइज भयो, उ खुशीले चिच्याएकी थिइ, ‘ओह, माइ गड ।’ उसलाई विश्वास नै भइरहेको थिएन, ऊ कसैलाई माया पनि गर्न सक्छे।
तर, के गर्नु र ? चार्ली उडिसकेको थियो। छिट्टै फर्किने आशा थिएन। उसलाई कफीको मूड चल्यो। चार्ली उडेको दिनदेखि ऊ कुनै पनि रेष्टुराँ छिरेकी थिइन। ऊ कफी पसल पुगी। चारैतिर आँखा घुमाएर हेरी। स्मोकिंग जोनमा त्यो सीट खाली थियो जसमा ऊ र चार्ली बसेर गफ गर्थे। ऊ चार्लीसंग छिल्लिन्थी। ऊ त्यही सीटमा बसी। उसलाई व्ल्याक कफी मन पर्दैनथ्यो। तर चार्ली लंग ब्ल्याक पिउँथ्यो। उसले लंग ब्ल्याक अर्डर गरी। त्यो पनि रेगुलर होइन, लार्ज। त्यसपछि कनिकाले गरेको अर्को अचम्मको कुरा थियो स्मोकिंग। ऊ स्मोकर थिइन। चार्लीको इच्छाको कदर गर्दै स्मोकिंग सेक्सनमा बस्दथी । तर, आज भने सीटमा बस्ने वित्तिकै उसले आफनो पर्सबाट सिगरेट निकाली, सल्काइ र धुवाँका गुव्वारा बनाउन थाली। अर्डर अनुसार उसको कफी आएपछि उसले कफीको कपमा चार्लीको अनुहार देखी र रमाई।
के चार्लीलाई पनि मेरै जस्तो मायाको रियलाइजेसन भएको होला त? उसलाई त्यस्तो लागेन। मनमनै कनिकाले आफैसँग भनी, ‘चार्ली म जस्तो मायामा अल्झिने मानिस नै होइन।’ त्यसपछि अर्को कप कफी मगाइ। अर्को पीस सिगरेट सल्काइ। एकछिन पछि मोवाइलमा वाइ–फाइ कनेक्ट गरी। मेसेन्जर खोली। चार्ली गएपछि पहिलो पल्ट मेसेज लेखी : हाउ आर यू चार्लु?
रमाइलो कुरा, चार्ली अनलाइन थियो, जवाफ दियो : हाउ आर यू स्वीटहार्ट ?
जवाफले उसलाई आल्हादित बनायो। चार्लीले पहिलो पल्ट कनिकालाई स्वीटहार्ट भनेको थियो।
उनीहरु अब भिडियो च्याट मोडमा थिए। चार्लीले भन्यो, ‘आइ ट्राइड सेभरल टाइम टू कन्ट्याक्ट यू, बट यू आर अल्वेज अफलाइन। व्हाइ सो ?’
कनिकाले केही जवाफ दिइन। उसका आँखाबाट बलिन्द्र धारा आँसु चुहिन थाल्यो। शव्दहरु घाँटीमा अड्किए। केही बोल्नै सकिन ऊ।
चार्लीले सम्झायो, ‘किन रोएकी ? यो बरिष्टाको ड्रेस मलाई सुहाएन भनेर? बट दिस इन भेरी रेस्पेक्टेड अट्टायर माइ डियर स्वीटहार्ट।’
दोस्रो पटक चार्लीको मुखबाट स्वीटहार्ट शव्द सुनेर कनिका झन भावुक भइ। उसले रुन्चे स्वरमा यतिमात्रै जवाफ दिइ, ‘थ्यांक यू, लभी।’
त्यसपछि कनिका अचानक हाँस्न थाली, ‘यो ड्रेस–अपमा तिमी त अचम्मको देखियौ ।’
चार्ली खुशी भयो। त्यसपछि सोध्यो, ‘तिमी मलाई पर्खन्छ्यौ ? धेरै होइन। दुई वर्ष मात्र ।
कनिकाका ओठबाट अनायास शव्दहरु फुस्किए, ‘म तिमीलाई सँधै पर्खिने छु । दुई वर्षमात्र किन ?’
चार्लीले रमाइलो गर्यो, ‘हेइ स्वीटी, सँधै पर्खिएर माया कहिले गर्ने ? फेमिली कहिले बनाउने ? रमाइलो कहिले गर्ने ? सँधै पर्खिने रे । के बलिउडी डायलग बोलेको त्यस्तो ?’
त्यसैबेला एउटा ट्रेजेडी भयो। बत्ती गयो । बत्तीसँगै वाइफाइ गयो। च्याट अफलाइन भयो। कनिकाले जवाफ दिन पाइन। आफनो रमाएको अनुहार चार्लीलाई देखाउन पनि पाइन।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
यो सिरिजका अन्य गाथा-