PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

टर्कीलाई हराउँदै स्पेन अन्तिम १६ मा प्रवेश



पहिलोपोस्ट

टर्कीलाई हराउँदै स्पेन अन्तिम १६ मा प्रवेश

समुह चरणमा लगातार दोस्रो जित हात पार्दै डिफेन्डिङ स्पेन युरो २०१६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
 
फ्रान्समा जारी युरो अन्तर्गत समुह डी को खेलमा स्पेनले टर्कीलाई ३–० ले पराजित गरेको हो । एकै खेलमा तीन गोल अन्तरले खेल जित्ने स्पेन जारी युरोमा पहिलो टोली समेत बनेको छ ।

यस्तै स्पेनले युरोमा अपराजित खेल संख्या १४ पुर्याएको छ । सन् २००४ को समूह चरणमा पोर्चुगलसँग पराजित भएयता स्पेनले कुनै खेल गुमाएको छैन भने दुई पटक उपाधि जिततिसकेको छ । स्पेनले युरोको पछिल्ला ७ खेलका गोल पनि बेहोरेको छैन । 

टर्की विरुद्ध शानदार जित दिलाउन स्पेनका अल्भारो मोराटाले दुई तथा नोलिटोले एक गोल गरे । स्पेनले पहिलो खेलमा जेरार्ड पिकेको निर्णायक गोल मद्धतमा चेक रिपव्लिकलाई हराएको थियो । 

स्टेड डे नाइसमा भएको खेलमा ३४ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यसको तीन मिनेट पछि नै अर्का फरवार्ड नोलिटोले स्पेनको अग्रता दोब्बर पारे । 

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफ लगत्तै गोल थप्यो । ४८ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए । त्यसपछि स्पेनले गोल थप्न सकेन भने टर्कीले पनि कुनै गोल गर्न सकेन । 

लगातार दुई जितपछि स्पेनको दुई खेलबाट ६ अंक भएको छ भने समूह डी को शीर्ष स्थानमा छ । लगातार दोस्रो हारसँगै टर्की भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । टर्की पहिलो खेलमा क्रोएसियासँग हारेको थियो । 

यसअघि समूह डी कै खेलका क्रोएसिया र चेक रिपव्लिकले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । क्रोएसिया चार अंक सहित दोस्रो स्थानमा छ भने एक अंक जोेडेको चेक तेस्रो र अंकविहिन टर्की पुछारमा छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell