
विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसी समुदायको मागलाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन्।
प्रदेश नम्बर १ को एकता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बिहान बिराटनगर आएका अध्यक्ष प्रचण्डले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय सरकारको आवश्यकतामा जोड दिए।
‘मधेसी समुदायको मागलाई सम्बोधन गर्न सम्भव छ,’ उनले भने, ‘यो लगायत देशमा देखिएका समस्याको समाधानका लागि राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो।’
राष्ट्रिय सहमतिका लागि सबै दलहरुबीच राष्ट्रिय एकताको खाँचो रहेको उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले निर्वाचनका लागि समेत राष्ट्रिय एकताको आवश्यकता रहेकोमा जोड दिए। ‘निर्वाचन गर्नुपर्छ भन्नेमा हामी सहमत छौं,’ उनले थपे, ‘तर निर्वाचनको कार्यतालिकाबारे भने निर्णय भइसकेको अवस्था छैन।’
देशका सामु देखिएका जटिल समस्या हल गर्न एउटासँग मिलेर अर्कोलाई पेल्ने सोचले झन् समस्या निम्त्याउने अध्यक्ष प्रचण्डले स्पष्ट पारे।