
काठमाडौं : हिजोआज पुस्तक सार्वजनिकीकरणको शैली फेरिन थालेको छ। कतिपय फेसबुकबाटै विमोचन हुन्छन् त कतिपय बजारमा गइसकेपछि।
सामान्यत: पुस्तक प्रकाशन हुन्छ र विमोचनपछि मात्रै त्यसलाई बजारमा पठाइन्छ।
नीलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’को विमोचन पनि यस्तै फरक शैलीमा गरियो। पहिले अमेरिकामै घुम्टो उघारिसकेको उपन्यासलाई शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठान हलमा सार्वजनिक गरिएको छ।
एकेडेमी हलमा भएको कार्यक्रममा टिप्पणीका लागि उपस्थित थिए- समालोचक डा. लक्ष्मणप्रसाद गौतम र प्राडा. दयाराम श्रेष्ठ सम्भव।
आफू सुरुदेखि नै नीलमको कविता र कथाको पाठक भएको भन्दै टिप्पणी सुरु गरेका गौतमले पछिल्लो कृतिले अघिल्ला कृतिलाई उछिनेको भन्दै नीलमको प्रशंसा गरे।
आफूले ‘चीरहरण’ पढिरहँदा ‘माधवी’ उपन्यासको सम्झना आएको भन्दै उनले ‘माधवी’ जत्तिकै मोटो र भीमकाय उपन्यास लेख्नु ठूलो चुनौती भएको बताए। ‘एक लाख श्लोक भएको महाभारतको मूल स्रोतबाट धेरै कृति लेखिएका छन्,’ उनले भने, ‘यसमा भने महाभारतको विपठन, पुनर्पठन र उत्तरपठन समेत गरिएको छ।’
महाभारतमा आउन बाँकी नारी विद्रोह, पीडा र अन्य जीवन भोगाइ थपिएर आउनु नै उत्तरपठन भएको उनले स्पष्ट पारे।
उपन्यास गहकिलो भएकाले ‘पर्यटक पाठक’का नजरले मात्र पढ्न नसक्ने भन्दै गौतमले महाभारतको पृष्ठभूमिमा रहेर नेपाली समाजका नारीले भोग्नुपरेको मिथकीय प्रतिबिम्बलाई उपन्यासले देखाएको चर्चा गरे।
‘संसारमा जे छ, महाभारतमा छ। संसारमा जे छैन महाभारतमा छैन,’ गौतमले थपे, ‘मूलत: नारीवादी कोणका विविध आयामबाट यो उपन्यासलाई व्याख्या गर्न सकिन्छ।’
अर्का टिप्पणीकार श्रेष्ठले महाभारत आफैंमा बोझिल कृति भएकाले त्यसलाई छिचोलेर उपन्यास तयार गर्न सक्नु ठूलो सफलता भएको बताए। ‘उपन्यासमा हरेक कोणबाट महिला पात्र आफैंलाई बोल्न लगाएर फरक संरचना तयार गरिएको छ,’ उनले भने, ‘आर्किटेक्टोनिक हिसाबले हेर्दा पुस्तकको निर्माण नौलो छ।’
गौतमले उपन्यासलाई महाभारतको पुनर्लेखनका रुपमा बताए पनि श्रेष्ठले पुनर्लेखन नभई नयाँ प्रयोगको रुपमा व्याख्या गरे। ‘यसमा महाभारतको युद्ध भएको छैन,’ उनले भने, ‘एकातिर नारीशक्ति र अर्कातिर परम्परित सोचबीच लडाइँ सुरु हुँदैछ भनेर अन्त्य गराइएको छ।’
टिप्पणीको अन्त्यमा उनले नीलमतिर हेर्दै भने, ‘नीलमजी, कल्पना गर्नुस्- म व्यास ऋषि हुँ। तर म तपाईंलाई श्राप होइन वरदान दिँदैछु।’
नीलम मुसुमुसु हाँसिरहेकी थिइन्। हलमा खचाखच सहभागी गम्भीर देखिन्थे।
‘तपाईं अर्को पुत्र जन्माउनुस् र नाम राख्नुस्- सीताहरण,’ श्रेष्ठ शुभेच्छा व्यक्त गरिरहेका थिए, ‘तपाईं अमेरिका जानुहोला। आफ्नो श्रीमानसँग खुसीसाथ बस्नुस्। मेरो आशीर्वाद छ, पुत्रवती हुनुस्।’
दुई टिप्पणीकारपछि उभिएकी लेखिका नीलमले आफूले भन्ने सबै कुरा पुस्तकमै आएकाले पुस्तकभित्र प्रवेश नगर्ने भन्दै लेखनको पृष्ठभूमिबारे सुनाइन्।
पहिले आमाले रोचक तरिकाले रामायण र महाभारतको कथा सुनाएको र नेपालगन्जमा फेला परेको बेवारिसे बच्चाको उपचारकै क्रममा मृत्यु भएको दारुण यथार्थलाई उनले एकैसाथ सम्झिइन्। ‘म नेपालगन्जमा नर्सिङ पढ्थेँ। कसैले फालेको नवजात बच्चालाई प्रहरीले अस्पताल लिएर आए,’ उनी भावुक बनिन्, ‘एक डाक्टर र मैले स्याहारेका थियौं उसलाई, तर बचाउन सकिएन।’
त्यही घटना र दिनहुँजसो आइरहने बलात्कारका समाचारले आफूमा केही न केही लेख्ने हुटहुटी चलेकाले दौपदीको सहारा लिनुपरेको उनले बताइन्। सुरुमा महाभारतमाथि धेरै अध्ययन नभएकाले ठूलो साधनापछि मात्र पुस्तक यो आकारमा आएको उनले स्पष्ट पारिन्।