PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

मनसुन भित्रियो, देशभर केही दिन पानी पर्ने



रासस

मनसुन भित्रियो, देशभर केही दिन पानी पर्ने

  • सिबी अधिकारी -
काठमाडौँ :असार १ गतेबाट सुरु भएको मनसुनी वायुको प्रभावले देशभर बदलीसँगै मध्य र पूर्वका अधिकांश स्थानमा वर्षात् भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। 

नेपालमा सामान्यतः जुन १० बाट मनसुन सुरु हुने भए पनि यो पटक झन्डै साता दिन ढिलो गरी मनसुन सुरु भएको छ । 

बङ्गालको खाडीबाट नेपालको पूर्वी भाग हुँदै भित्रिएको मनसुन अहिले मध्यभागमा आइपुगेको र यो क्रमशः पश्चिमतिर सर्ने क्रममा रहेको छ । 

मनसुनी वायुको प्रभावले खासगरी मध्य र पूर्वी तथा पश्चिमका नेपालगन्ज, धनगढीलगायतका स्थानमा समेत वर्षात् भएको मौसमविद् पौडेलले बताए। 

उनका अनुसार मनसुन देशको पश्चिम भेगतर्फ सरिरहेकाले अझै केही दिन बदलीसँगै देशैभर वर्षात् हुनेछ । मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्ने क्रममा रहेकाले बढी वर्षात् भएको पनि उनले उल्लेख गरे। 

अर्का मौसमविद् सुजन सुवेदीले प्रि–मनसुनसँगै स्थानीय वायुको सक्रियताले पनि वर्षात् गराएको बताए। 

आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा दिउँसो भीषण वर्षात् हुँदा सवारी आवागमनसमेत केहीबेर प्रभावित भएको थियो। 

महाशाखाको पछिल्लो विवरणअनुसार विराटनगरमा ३.०, धरानमा १३.५, धनकुटामा ६७, तापलेजुङमा २७, ओखलढुङ्गामा १.२, जनकपुरमा १०, भैरहवामा ६.८, जिरीमा २१.८, काठमाडौँमा ३.५, पोखरामा २३.२, लुम्लेमा ६२.७, दाङमा छ र डडेलधुरामा तीन मिलीमिटर वर्षात् भएको छ । 

के हो मनसुन ? 

जुनदेखि सेप्टेम्बरसम्म बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवास्पयुक्त हावा नै मनसुन हो । नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने चार महिना (१०५) दिन अवधिमा चल्ने उक्त हावाले अधिक वर्षात् गराउँछ । जलवास्पयुक्त हावाले नै मनसुन अवधिभर वर्षात् गराउने मौसमविद्को भनाइ छ।

नेपालमा वर्षभरि मनसुनका कारण ८० प्रतिशत र प्रि–मनसुन र पश्चिमी वायुको प्रभावले २० प्रतिशत वर्षात् हुने गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार साधारणतया जुनदेखि सेप्टेम्बरको चार महिनासम्मको समयलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षात्को करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । गत वर्षको मनसुनी वर्षा करिब ७६ प्रतिशत रहेको थियो, जुन सरदरभन्दा कम हो । 

सन् २०१० देखि हरेक वर्ष मनसुन सुरु हुनुअगावै विश्व मौसम सङ्गठनको अगुवाइमा दक्षिण एसिया क्षेत्रका मौसमविद्हरुको साझा दृष्टिकोण तयार गर्ने परिपाटी रहेको छ । जसअनुसार नेपालमा यस वर्षको मनसुनी वर्षा समग्रमा सरदर रहने बताइएको छ । 

तथापि क्षेत्रगत रुपमा हेर्दा मध्य तथा सुदूरपश्चिमका तराईका केही भूभागहरु तथा सुदूरपश्चिमका केही पहाडी भू–भागहरुमा सरदरभन्दा बढी र पूर्वका केही तराईका साथै पहाडी भू–भागहरुमा सरदरभन्दा कम वर्षा हुने मौसमविद्को अनुमान छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell