PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

कोरिया जानका लागि भाषा परीक्षाको पहिलो दिन ३१ नक्कली परिक्षार्थी पक्राउ



रासस

काठमाडौँ : रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौँबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी ३१ जना अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए। 

पक्राउ परेकाहरुलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको उनले बताए। 

यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् । 

आज ३० हजार २०२ परीक्षार्थी रहेकामा २८ हजार ७८२ जनामात्रै परीक्षामा सहभागी भएको उनले जानकारी दिए। 

बाँकी परीक्षार्थीको आइतबार बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि परीक्षा सञ्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७० मिनेटको हुनेछ । 

यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् । 

आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका छन् । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell