
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल भएपछि पोर्चुगल युरो २०१६ को दोस्रो खेलमा पनि बरारबीमा रोकिएको छ ।
समूह एफ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगल अष्ट्रियासँग गोलरहित बराबरीमा रोकिएको हो । समूह चरणमा पोर्चुगलको यो लगातार दोस्रो बराबरी हो ।
पहिलो खेलमा पनि पोर्चुगल डेब्युटान्ट आइसल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएको थियो ।
अघिल्लो चरण प्रवेशका लागि पोर्चुगल र अष्ट्रियालाई खेल जित्नैपर्ने दबाब थियो । तर दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि तयसलाई सदुपयोग गर्न सकेनन् । ७९ औं मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर प्राप्त गर्यो ।
कप्तान रोनाल्डोको लागि यो सुनौलो अवसर थियो पोर्गुगललाई खेल जिताउने र चार फरक युरोमा गोल गर्ने इतिहास बनाउन । तर रोनाल्डो यी दुवैबाट चुके । उनले प्रहार गरेको पेनाल्टी बारमा लागेर फर्केको थियो ।
अष्ट्रिया विरुद्धको खेलमा मैदान उत्रेसँगै रोनाल्डोले पोर्चुगलका लागि सर्वाधिक खेल खेल्ने रेकर्ड भने कायम गरेका छन् । उनले लुइस फिगोलाई पछि पार्दै सर्वाधिक १२८ खेल खेलेका हुन्
बराबरी पछि पोर्चुगल र अष्ट्रिया दुवैलाई अघिल्लो चरण प्रवेश गर्न कठिन बनेको छ । दोस्रो बराबरी पछि पोर्चुगलको २ अंक छ भने एक हार एक बराबरीपछि अष्ट्रियाको १ अंक छ । यस्तै एक जित र एक बराबरीबाट हंगेरी समूह एफको शीर्ष स्थानमा छ । पोर्चुगल समान दुई बराबरीबाट २ अंक जोडेको आइसल्याण्ड दोस्रो तथा पोर्चुगल तेस्रो स्थानमा छ ।
अब समूह को अन्तिम खेलमा हंगेरी र पोर्चुगल तथा आइसल्याण्ड र अष्ट्रिया बीच प्रतिस्पर्धा हुनेछ ।