
अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सबेरै भएको खेलमा भेनेजुएलालाई ४–१ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल पुगेको दिन कप्तान मेसीले पनि गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् । मेसीले गाब्रीएल बाटिस्टुटाको नाममा रहेको ५४ अन्तर्राष्ट्रिय गोलको बराबरी गरेका हुन् ।
जिलेट स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउने मेसीसँगै गोन्जालो हिग्वेनले दुई तथा एरिक लामेलाले एक गोल गरे ।
खेलको आठौं मिनेटमै हिग्वेनले पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २८ औं मिनेटमा हिग्वेनले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।
४४ औं मिनेटमा भेनेजुएलाले गोल अन्तर कम गर्ने अवसर पाएको थियो । तर लुइस सेइजाजको कमजोर पेनाल्टी प्रहार अर्जेन्टिनी गोलरक्षक सर्जियो रोमेरोको हातमै पुग्यो र गोल गर्न असफल रहे ।
१४ पटकको च्याम्पियन अर्जेन्टिनाको लागि मेसीले ६० औं मिनेटमा शानदार गोल गर्दै ३–० को अग्रता दिलाए भने बाटिस्टुटाको नाममा रहेको कीर्तिमान पनि बराबरी गरे । सन् २००६ मा क्रोएसिया विरुद्ध मेसीले अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
खेलको ७० औं मिनेटमा भेनेजुएलाका जोस सालोमन रान्डोनले गोल गर्दै गोल अन्तर ३–१ मा झारे तर त्यसको एक मिनेट पछि नै एरिक लामेलाले अर्जेन्टिनाको लागि चौथो गोल गरे ।
यस्तै मेसी अमेरिकामा जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि शीर्ष स्थानमा उक्लेका छन् । समूह चरणको दोस्रो खेलमा पानामा विरुद्ध ह्याट्रिक गरेका मेसीको गोलसंख्या ४ पुगेको छ ।
अर्जेन्टिनाले अव सेमिफाइनलमा आयोजक अमेरिकासँग खेल्नेछ । अमेरिका इक्वेडरलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।