PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​कोपा अमेरिका : मेक्सिकोको पोष्टमा चिलीको ७ गोल, एडुअर्डो भर्गासले गरे एक्लै चार गोल



पहिलोपोस्ट

​कोपा अमेरिका : मेक्सिकोको पोष्टमा चिलीको ७ गोल, एडुअर्डो भर्गासले गरे एक्लै चार गोल

एडुअर्डो भर्गास एक्लैले चार गरेपछि मेक्सिकोलाई एकपक्षीय नतिजामा पराजित गर्दै चिली कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। 
आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा चिलीले मेक्सिकोलाई ७–० ले हरायो। 

चिलीको जितमा नायक बनेका भर्गास एक्लैले चार गोल गरे। खेलको १६ औं मिनेटमा एडसन पुचले गोल गर्दै चिलीलाई अग्रता दिलाए। पहिलो हाफ सकिन एक मिनेट अगाडि भर्गासले व्यक्तिगत पहिलो गोल गरेपछि चिलीले पहिलो हाफमा अग्रता दोब्बर बनायो । 

पहिलो हाफमा दुई गोल खाएको मेक्सिको दोस्रो हाफमा चिलीसामु निरीह जस्तै देखियो भने चिलीले चार गोल थप्यो । ४९ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै चिलीलाई ३–० को अग्रता दिलाए।

५३ औं मिनेटमा भर्गासले चिलीका लागि चौथो तथा व्यक्रिगत दोस्रो गोल गरे। ५८ हौं मिनेटमा भर्गासले ह्याट्रिक पुरा गरे भने चिलीलाई ५–० को अग्रता दिलाए। भर्गास अझै रोकिएनन्, उनले ७४ औं मिनेटमा चिलीका लागि छैटौ तथा व्यक्तिगत चौथो गोल गरे। 

चिली यतिमै रोकिएन एडसन पुचले ८८ औं मिनेटमा व्यक्रिगत दोस्रो गोल गर्दै चिलीलाई ७–० को जित दिलाए। चिलीसँगको हारसँगै मेक्सिकोको २२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

चिलीले अब दोस्रो सेमिफाइलनमा कोलम्वियासँग खेल्नेछ।  पहिलो सेमिफाइनलमा आयोजक अमेरिका र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell