PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

​कलियुगका शिव : धन देख्दा महादेवको त्रिनेत्र खुल्ला तर उनी लोभिएनन्



सविन ढकाल

​कलियुगका शिव : धन देख्दा महादेवको त्रिनेत्र खुल्ला तर उनी लोभिएनन्

काठमाडौँ : ताहाचल श्रम विभागमा कार्यरत शिवचन्द्र धिताल शुक्रबार साँझ ५ बजे कार्यलयबाट कोटेश्वरतिर लागे। कोटेश्वरको बस काउन्टरमा पुगेर सिराहाको लागि छोरीलाई टिकट लिनु थियो।

कोटेश्वरबाट लगनखेल जाने सडक नजिकै बन्दै गरेको पुलमुनि उनका आँखा टक्क अडिए। पुलमुनि एउटा रातो ब्याग थियो। के होला यो? एकमनले भन्यो- बम त होइन कतै ? अर्को मन बोल्यो- बहुमूल्य सामान पनि हुनसक्छ।

मोटरसाइकलबाट ओर्लिएर उनी त्यता लम्किए। करिब साढे ५ बजेको हुनुपर्छ। सबै मानिस आआफ्नै कामको सुरमा थिए। उनले त्यहीँको एक जना युवकलाई बोलाए। रातो व्याग खोल्न लगाए।

ब्याग खोल्दा त त्यहाँ थियो रुपैयाँको बिटा। प्लाष्टिकमा बेरिएका हजार हजारका नोटहरु। त्यसपछि उनलाई अर्कै डरले सतायो। कतै ती युवक पैसा लिएर भाग्ने त होइनन्?

अनि उनले त्यो थैली आफैसित राखे। हुनत धन देखेपछि महादेवका पनि तीन नेत्र खुल्छ भन्छन् तर यी कलियुगका शिवको मनमा लोभ जागेन। १५ वर्षअघि धर्ति छोडेका हजुरबालाई पो उनले सम्झिए। उनलाई हजुरबाले दिएको एउटा संस्कार थियो - कसैको मालसामान पाउँदा खुसी नहुनु। 

हजुरबुबाको त्यही उपदेश सम्झँदै उनले प्रहरीको १ सय नम्बरमा खवर गरे। आफूले भेट्टाएको पैसाको बारेमा सुनाए। प्रहरीले उनलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरको नम्वर दियो। उनले कोटेश्वर प्रहरीलाई फोन गरे। साँझ झन् झन् छिप्पिँदै गएको थियो।

उनले त्यतिबेरसम्म हातैमा भएको पैसा समेत गनेका थिएनन्। केही छिनमा नै प्रहरी त्यहाँ आइपुग्यो। प्रहरीले उनलाई नै त्यो पैसा गन्न लगायो। एक, दुई भन्दै गन्न लागे नेपाली रुपैयाँ ४० हजार पुग्यो। भारतीय केही हजार पनि त्यही बिटोमा थिए।

सम्बन्धित व्यक्तिलाई पैसा जिम्मा लगाइदिनू भन्दै प्रहरीलाई ब्याग दिएर उनी काउन्टरतिर लाग्न खोजे। प्रहरी ब्याग लिएर प्रभागतिर लाग्यो। यत्तिकैमा एक युवक कालो अनुहार लगाएर हस्याङ फस्याङ गर्दै आइपुगे। त्यो हराएको ब्याग उनकै रहेछ।

भक्तपुरको बालकोटमा पान पसल गरेरे बसेका २० वर्षीय पवन शाह हजुरबा बितेको खबर आएपछि दाहसंस्कार गर्न जान लागेका रहेछन्। उनका आमा बुवा नाइटबसमा नै हराएको पैसा भेटिने हो होइन भन्ने खल्लो मन बनाएर छोरोको प्रतीक्षामा थिए।

अत्तालिएका युवकलाई लिएर उनी चौकीमा पुगे। उनले भेट्याएको पैसा युवकले पाए । पैसा भेट्टाएर प्रहरीलाई जिम्मा लगाउने धिताललाई धेरै-धेरै धन्यवाद दिए अनि लागे धनुषातिर। 

पहिलोपोस्टसँगको भेटमा धिताल भन्दै थिए, 'त्यो पैसा मैले गोजीमा हालेको भए मेरो केही आवश्यता पूरा त हुन्थ्यो होला। तर ती युवकका मृत हजुरबाको आत्माले कति सराप्थ्यो होला? अनि मेरा हजुरबाको आत्माले पनि शान्ति पाउने थिएन।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell