PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

पारस भन्छन् : जर्मनीको सम्भावना बढी, भार्डी चम्किन सक्ने खेलाडी



पहिलोपोस्ट

पारस भन्छन् : जर्मनीको सम्भावना बढी, भार्डी चम्किन सक्ने खेलाडी

पारस खड्का नेपाली क्रिकेट टिमका कप्तान हुन्। तर विश्वभरका फुटबल पारखीको जस्तै उनको ध्यान पनि युरोप र अमेरिकामा छ जहाँ युरो कप र कोपा अमेरिकाका खेलहरु भइरहेका छन्। राष्ट्रिय क्रिकेट टीम भने आगामी साउनमा नेदरल्याण्ड्सविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप तयारीको लागि कीर्तिपुरमा ट्रेनिङमा व्यस्त छ। पहिलोपोस्ट टीम केही दिनअघि कीर्तिपुर क्रिकेट मैदान पुग्दा पारससहितको टोली ट्रेनिङ गर्दै थिए। मनोज सत्याल र गोविन्दराज नेपालले क्रिकेट कप्तानसँग गरेको फुटबल चर्चा।

ट्रेनिङले गर्दा नियमित हेर्न पाएको छैन

विश्व क्रिकेट लिग च्याम्पियनसिपको ट्रेनिङ भर्खरै सुरु भएको छ। सबै खेलाडी ट्रेनिङमा व्यस्त छन्। अहिले विशेष गरी फिटनेसमा हामीले बढी ध्यान दिइरहेका छौँ। त्यसले गर्दा पनि सबै म्याच हेर्न पाएको छैन तर मुख्य म्याचहरुको भने हेरिरहेको छु, बाँकी हाइलाइट्स हेरिन्छ। नकआउट चरणमा पुगेपछि सबै म्याच हेरिन्छ होला।

क्रिकेटभन्दा फुटबलको राम्रो खेलाडी

म सानैदेखि खेलकुदमा रुचि राख्ने मान्छे, खेलकुदमा अलराउण्डर नै थिएँ। स्कुलमा हुँदा फुटबलका साथै क्रिकेट, बास्केबल पनि खेलिन्थ्यो। मलाई पहिलेदेखि नै सबै खेलहरु मन पर्थ्यो। सानोमा म क्रिकेट भन्दा फुटबलको राम्रो खेलाडी थिएँ। अहिले पनि टेलिभिजनमा प्रायः सबै खेलहरु हेर्ने गर्छु। विशेषगरी फुटबल, क्रिकेट, बास्केटबल मैले हेर्ने खेल हुन्। स्कुल लेभलमा हुँदा इन्टर स्कुल फुटबल टुर्नामेन्टहरु पनि खेलेको थिएँ । यस्तै दश कक्षामा पढ्दै गर्दा यु १५ सेलेक्सन पनि खेलेको थिएँ। अहिले समय मिलेको बेला साथीहरुसँग फुटसल खेल्न गइन्छ।

युरोमा मन पर्ने विशेष टीम र खेलाडी छैन

फुटबल मलाई सानैदेखि मन पर्ने खेल हो । क्लब फुटबलमा मलाई लिभरपुल मन पर्छ र लिभरपुलबाटै खेलेका स्टेभेन जेरार्ड मेरो प्रिय खेलाडी हुन्। तर अहिले चलिरहेको युरो कपमा भने मैले कुनै टीम वा खेलाडीलाई समर्थन गरेको छैन। स्टेभेन जेरार्ड पहिला खेलेका कारण इंगल्याण्ड पनि मन त पर्छ तर डाईहार्ट फ्यान भने होइन। यस संस्करणको युरो कपमा म कसैको समर्थन गर्न भन्दा पनि खेलको समर्थन गरिरहेको छु।

एउटै क्लबबाट खेल्ने खेलाडीको प्रतिस्पर्धा हेर्न मज्जा

यस पटक युरोमा एकै क्लबबाट सँगै खेलेका खेलाडीहरु फरक फरक राष्ट्रको प्रतिनिधित्व गर्दै मैदान उत्रेका छन्। धेरै जसो खेलाडीहरु इंग्लिस प्रिमियर लिग र स्पानिस लिगमा खेलेका छन्। क्लबमा सँगै खेलेका उनीहरु एकआपसमा प्रतिस्पर्धा गरेका हेर्न मज्जा आउँछ। सबै टीमले सुरुवात राम्रो गरेका छन्।  फुटबल राम्रो खेल हो र हामी पनि राम्रो फुटबलकै अपेक्षा गर्छौ।

कसले जित्ला : जर्मनी, स्पेन ?

युरो कपमा खेल्ने सबै टीम उत्कृष्ट छन्। यहाँ कसले कसलाई हराउँछ अड्कल गर्न गाह्रो हुन्छ। अहिले नै कसले उपाधि जित्छ भन्नै सकिँदैन। पूर्व च्याम्पियन नेदरल्याण्ड्स छनौट नै भएन। मेरो विचारमा यो पटक जर्मनी सबैभन्दा ठूलो दाबेदार हो। पहिलो चरणका खेलहरुमा पनि भर पर्छ। आयोजक फ्रान्सको पनि टीम राम्रो छ। क्रोएसियाको पनि खेलाडीहरु राम्रो छन् यसपटक। टीममा रहेको खेलाडीहरु हेर्दा जर्मनी मुख्य दाबेदार हो। त्यसपछि स्पेन।

जेमी भार्डी स्टार बन्न सक्छन्

युरोमा खेल्ने ५५२ मध्ये प्रायः सबै खेलाडी उत्तिकै राम्रो छन्। को अगाडि आउँछ भन्दा पनि कसले राम्रो खेलेर आफुलाई प्रमाणित गर्छ भन्ने विषय महत्वपूर्ण छ। सबै टीममा राम्रो खेलाडीहरु छन्। टीम राम्रो भएर मात्र हुँदैन खेलाडीहरुको कम्बिनेसन पनि मिल्नुपर्छ। खेलको दिन कसले राम्रो खेल्छ ऊ नै अगाडि आउने हो। सही समयमा सही निर्णय लिनसक्ने खेलाडी हुनुपर्छ। मेरो विचारमा यस पटक इंगल्याण्डका जेमी भार्डी चम्कने सक्ने खेलाडी हुन्। गत वर्षको स्टार खेलाडी हुन् भार्डी। यस युरोमा पनि अवसर पाएको खण्डमा भार्डीले आफुलाई प्रमाणित गर्न सक्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell