PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

दाइको नाममा भाइको त्याग! दाजु बनेर परीक्षा दिँदा समातिए भाइ



सविन ढकाल

दाइको नाममा भाइको त्याग! दाजु बनेर परीक्षा दिँदा समातिए भाइ

काठमाडौं : रोशन शेर्पा (नाम परिवर्तन) हतारहतार कोरियन भाषा 'इपिएस'को परीक्षा दिन तीनकुनेमा रहेको भिएस निकेतन स्कुल पुगे। शनिबार र आइतबार भएको परीक्षा उनलाई जसरी पनि पास गर्नु थियो। यो जटिल परीक्षा पास गरे पनि उनी कोरिया भने जाने थिएनन्। उनी परीक्षा पास गरे उनका दाजु उत्तीर्ण हुने रहेछन्!

परीक्षामा सहभागी हुनुअघि नै आफ्ना दाइलाई पास गराएर कोरिया पठाउन नक्कली परीक्षार्थीका रुपमा उनी उपस्थित रहेको प्रहरीले फेला पार्‍यो। र, उनका लागि शनिबारको परीक्षा 'दुर्भाग्यपूर्ण' बन्यो।
 
दाजुलाई भाषा पास गराएर कोरिया पठाउने सपना पूरा नहुँदै उनको कठालोमा प्रहरीको हात परेको हो। २३ वर्षीय शेर्पा दाजुको नाममा उनकै पासपोर्ट बोकेर परीक्षा हलमा पुगेका रहेछन्। प्रहरीले पासपोर्टमा भएको फोटो र उनको उनुहार नमिलेको देखेपछि उनीमाथि निगरानी बढायो। र, उनी अन्तत: प्रहरीको पञ्जामा परे। उनले पहिलोपोष्टसित दाजुका लागि परीक्षा दिन आएको स्वीकारे।
 
प्रहरीले नक्कली विद्यार्थी भनेर पक्राउ गरेपछि उदासिन थिए उनी। हामीले सोध्यौं, 'किन यस्तो खतरा मोल्नुभयो ?'

सुरुमा उनी हामीसित बोल्न हिचकिचाए। पछि भने खुल्न थाले। 'मैले नै दाइको इपिएस फर्म भरेँ, घन्टौं लाइनमा बसेँ,' उनले भने।

समाजमा हत्तपत्त नपाइने यस्तो प्रयास आजको परीक्षामा देखियो। परीक्षामात्र होइन उनले दाजुकै लागि तीन महिनासम्म कोरियन भाषा पढ्न समेत पुगेका रहेछन्।

उनका दाजु सोलुखुम्बुमा छन् जो काठमाडौं आउनै सकेनन्। 'दाइ नआएकाले मैले नै परीक्षा दिन आएँ,' उनले भने।

उनका दाजु सोलुखुम्बुमै शिक्षक छन्। तर कोरिया जाने दाजुको रहर पूरा गर्न भाइले जोखिम मोले र आफैलाई फन्दामा पारे। नक्कली परीक्षार्थी भएकाले उनलाई ६ महिनासम्मको जेल सजाय हुनसक्छ।

हामी शनिबार र आइतबार राजधानीमा भएका विभिन्न परीक्षा केन्द्रमा पुग्दा यस्ता २० जनाभन्दा बढी नक्कली 'विद्यार्थी'लाई हाम्रै अगाडि प्रहरीले समात्यो। समातिनेको संख्या हामीले देखेभन्दा बढी थियो।

शनिबार मात्रै राजधानीका विभिन्न परीक्षा केन्द्रबाट ३१ नक्कली विद्यार्थी पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ। अन्तिम दिन आइतबार आइपुग्दा यस्ता छद्म विद्यार्थीको संख्या तीन गुना पुग्यो। आइतबार मात्रै थप ६० जना विद्यार्थी नक्कली फेला परेको इपिएस कोरिया शाखा प्रमुख डिल्लीराम बास्तोलाले पहिलोपोष्टलाई जानकारी दिए। उनका अनुसार कोरिया जाने लोभ बढेसँगै विद्यार्थी नक्कली हुने गरेका बताए।

परीक्षाको अन्तिम दिनसम्म लगातार नक्कली परीक्षार्थी समातिएकाले यसपाला पास भएर आउनेमध्ये नक्कली विद्यार्थी पनि उत्तिकै हुने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell