
काठमाडौँ : नेपाली कांग्रेसका सांसदले पूर्व राष्ट्रपति रामवरण यादवको घरभाडा सरकारले नतिरेको प्रति सरकारको विरोध गरेका छन्।
संसद बैठकमा कांग्रेस सांसद राजेन्द्र केसीले घरभाडा नतिरेको प्रति आपत्ती जनाउँदा सरकारले नतिर्ने स्पष्ट गरे कांग्रेस सांसदले लेबी उठाएर तिर्ने बताए। ''पूर्व राष्ट्रपति रामवरण यादवको घरभाडा मागेर घरबेटी अदालत गएको कुरा आएको छ। यो कुरा साँचो हो भने आपत्तिजनक छ'', उनले भने,
''आवास सुविधा राज्यले उपलब्ध गराउनुपर्ने दायीत्व छ। यो सरकार के हेरेर बसिराखेको छ। यो पहिलोपटक समस्या आएको पनि होइन।'' उनले सरकारले लापरवाही गरेको आरोप लगाए। ''यदि सरकारले नतिर्ने हो भने हामी लेबी उठाएर पनि तिर्न तयार छौँ'', उनले भने।
पूर्व राष्ट्रपति रामवरण यादवलाई राष्ट्रपति भवनबाट हटाउने क्रममा सरकारले १ लाख तीस हजार प्रति महिना तिर्ने भन्दै रविभक्त श्रेष्ठको घरमा भाडामा राखेको थियो।
सरकार र घरबेटीबीच पूर्व राष्ट्रपतिको आवासका लागि २०७२ कात्तिक ११ सम्झौता भएको थियो। उनले भाडा नपाएपछि प्रधानमन्त्री कार्यालयमा समेत २०७२ माघ ७ मा निवेदन दिएका थिए। तर भाडा नपाएपछि आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।