
काठमाडौँ : सभामुख ओनसरी घर्तीले भूकम्पपीडितले सहायता नपाएको भन्दै सांसदहरुले उठाएको गुनासोमा आफ्नो र संसदको ध्यानाकर्षण भएको बताएकी छिन्। सांसदहरुले भूकम्पपीडितको बिजोग रहेको उल्लेख गर्दै पुनर्निर्माणमा प्रगति नभएको भन्दै सरकारको जवाफ माग गरेका थिए।
सभामुख घर्तीले संसदको ध्यानाकर्षण भएको बताए पनि कुनै रुलिङ भने गरिनन्।
संसदको विशेष समयमा कांग्रेसका महेश आचार्यले मंगल ग्रहको क्रेटरको नाम वैज्ञानिकहरुले लाङटाङ राख्दासमेत सरकारले लाङटाङमा राहत पुर्याउन नसकेको आरोप लगाए।
'एउटा परिवार पनि सामूहिक आवासमा आउन सकेको छैन, स्वयंसेवक परिचालन किन भएन', उनले प्रश्न गरे। आचार्यले पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति र परामर्श समितिमा प्रधानमन्त्री अध्यक्ष भएपनि सदनमा नआएको प्रति आपत्ति प्रकट गरे।
'सरकारले साँघुरो चित्त राखेर पीडित पहिचानमा राजनीति गरेको छ', आचार्यले सरकारको आलोचना गर्दा भने, 'कर्मचारी भर्नामा पूर्वाग्रह राखिएको छ।' सरकारले राष्ट्रिय अभियानको रुपमा पुर्ननिर्माण अगाडि बढाउने भन्दै वैदेशिक सहयता प्राप्त गरेको भएपनि काम गर्न नसकेको आरोप लगाए।
कांग्रेसकै कमल प्रसाद पंगेनीले पुर्ननिर्माण प्राधिकरणका सिइओ अयोग्य रहेको टिप्पणी गरे।
'प्राधिकरण तत्काल भंग गरियोस्', उनले भने, 'सेना, दैवी प्रकोप उद्दार समिति र सशस्त्र प्रहरी परिचालन गरियोस्। २ लाख रकम एकमुष्ठ उपलब्ध गराइयोस्।'
कांग्रेसकै राजन केसीले पनि पुनर्निर्माणमा गति नदिएको भन्दै सकारको आलोचना गरे। विगतको सरकारले रेस्क्यु राम्रो गरेपनि अहिलेको सरकारले पुनर्निर्माणमा काम गर्न नसकेको उनको आरोप थियो।