PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

​आकर्षक तलबको लोभमा जोखिम भए पनि जान्छन् नेपालीहरु अफगानिस्तान



उमेश पौडेल

​आकर्षक तलबको लोभमा जोखिम भए पनि जान्छन् नेपालीहरु अफगानिस्तान

काठमाडौं : सोमबार १४ नेपालीको ज्यान गएको हिंसाग्रस्त देश अफगानिस्तानमा सरकारले वैधानिक रुपमा कामदार पठाउन अनुमति दिने गरेको छ। वैदेशिक रोजगार विभागले  अहिलेसम्म ६ हजार जनालार्इ अफगानिस्तान जान श्रम स्वीकृति दिएको छ।

अफगानिस्तानमा विदेशी सेनाको क्याम्पमा काम गर्न विभिन्न देशबाट कामदार आपूर्ति हुँदै आएको छ। औपचारिक रुपमा कामदार लैजान खुल्ला गरेकाले जोखिम भए पनि आकर्षक तलबको लोभमा नेपालीहरु अफगानिस्तान जाने गरेका छन्।

विभागका अनुसार अहिलेसम्म ३३ सय जना सुरक्षागार्डको रुपमा अफगानिस्तानमा काम गरिरहेका छन्। विभागको अनुमतिमा १२ वटा म्यानपावर कम्पनीले नेपाली कामदार अफगानिस्तानमा आपूर्ति गरिरहेका छन्। 

सुरक्षाको उच्च जोखिम भएका मुलुकमा म्यानपावरमार्फत् नै कामदार पठाउन सरकारले अनुमति दिएको छ। एक म्यानपावर व्यवसायीका अनुसार पूर्व बेलायती सेनाहरुले चलाएको म्यानपावरले अफगानिस्तानमा कामदार पठाइरहेका छन्।

अनौपचारिक रुपमा पनि एजेन्टमार्फत् अफगानिस्तान जाने नेपालीको संख्या उल्लेख्य रहेको छ। ती म्यानपावर व्यवसायीका अनुसार अफगानिस्तानमा अहिले १० देखि १५ हजारको हाराहारीमा नेपाली कार्यरत छन्। विभिन्न सेनाको क्याम्पमा काम गर्नका लागि उनीहरु अफगानिस्तान गएका हुन्। 

२०६१ भदौ १६ मा इराकमा १२ नेपाली मारिएपछि सरकारले युद्धग्रस्त देशमा कामदार पठाउन प्रतिबन्ध लगाएको थियो तर यो घट्ना सेलाएको केही समयपछि सरकारले नै त्यस्ता देशमा कामदार पठाउन खुल्ला गर्यो। 

अफगानिस्तानमा अमेरिकी क्याम्पमा सुरक्षा गार्डका रुपमा मात्र नेपालीलाई पठाउन मिल्ने प्रावधान रहेको श्रम विभागका पूर्व प्रवक्ता जनक रेग्मीले बताए । 

गत पुस महिनामा ९९ जना र माघ महिनामा ५० जना नेपाली कामदार अफगानिस्तान गएको विभागको तथ्यांकमा उल्लेख छ। 
यो वर्षको वैशाख महिनामा संस्थागत रुपमा अफगानिस्तान एकसय ५८ जना र व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर एक हजार ५५ गरी कूल १२ सय १३ जना अफगानिस्तान गएको विभागले जनाएको छ। 

'प्रायजसो नेपालीहरु युएन र भारतीय मिसनहरुमा जाने गरेका छन्' रेग्मीले भने 'घरेलु कामदार र वर्किङ भिसामा भने पठाइएको छैन।'

श्रम विभागका महानिर्देशक शत्रुघन प्रसाद पुडासैनीले वैधानिक संस्था, डिप्लोम्याटिक मिसन, युएन मिसनमा मात्र कामदार पठाउनका लागि स्वीकृति दिने गरेको बताए। उनले द्वन्दग्रस्त मुलुकहरुमा करिब नौ हजार जना नेपाली सुरक्षागार्डको रुपमा काम गर्न श्रम स्वीकृति दिएको जानकारी दिए। 

सोमबार ज्यान गुमाएका नेपालीहरु कसरी गएका हुन् भन्नेाबारे हालसम्म केही खुलेको छैन। 'हामी पहिले वैधानिक वा अवैधानिक कुन तवरले गएका हुन् त्यसको निर्क्यौल गर्छौं' पुडासैनीले भने 'सम्बन्धित देशका राजदूतावासलाई खबर भइसकेको छ। राहदानी हेरेर छानबिन हुन्छ।' 
उनले वैधानिक रुपमा गएमा बिमा र सरकारी सुविधा पाउने र अवैध रुपमा गएकाले केही सुविधा नपाउने बताए। अफगानिस्तान, पाकिस्तान, नाइजेरिया, कङ्गो लगायतका देशमा नेपाली कामदार गइरहेका छन्। 

(फोटो : भिओए)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell