PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​अनलाइन मिडिया निर्देशिका नसच्याई लागू गरिए पत्रकार महासंघले कडा प्रतिवाद गर्ने



पहिलोपोस्ट

काठमाडौः सूचना तथा संचार मन्त्रालयमार्फत् नेपाल सरकारले जारी गरेको अनलाएन संचारमाध्याम संचालन निर्देशिकाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले आज एक विज्ञप्ति जारी गरी सरकारले जारी गरेको निर्देशिका संविधानको भावनाको समेत विपरित रहेको भन्दै तत्काल सच्याउन माग गरेको छ।

महासंघले त्यसलाई नसच्याई लागू गरिएमा कडा प्रतिवाद गर्ने पनि चेतावनी दिएको छ। महासंघले अनलाइन संचारमाध्यामलाई दर्ता गर्ने र त्यसको सूचना विभागबाट अनुगमन हुने कुराप्रति विमति जनाउँदै सूचीकरण गर्नुपर्ने व्यवस्था मात्र राख्न माग गरेको छ।

महासंघले कतिपय पत्रकार आचार संहिताले नै समेट्ने विषय समेत पुन दोहोर्‍याएर अन्यौल पैदा गर्ने अवस्था रहेको भन्दै त्यस्ता प्रावधान खारेजीको माग गरेको छ।

'संचारमाध्याम र पत्रकारले जुनसुकै अवस्थामा पनि पत्रकार आचारसंहिताको दृढतापूर्वक पालना गर्नुपर्दछ र पत्रकारिताका मान्य सिंद्धान्त र व्यवसायिक धर्मलाई आत्मसात् गर्नुपर्दछ भन्नेमा कुनै दुईमत छैन' महासंघको विज्ञप्तिमा भनिएको छ, 'महासंघ संचारमाध्यमको नियमन हुन सक्दछ र त्यो स्वनियमन प्रणाली अन्तर्गत स्वतन्त्र स्वनियमकारी निकायबाट हुनुपर्दछ भन्नेमा पनि स्पस्ट छ।'

महासंघले अनलाइन संचार माध्यमलाई विद्यमान प्रेस सम्बन्धि कानुनी व्यवस्था अन्तर्गत संरक्षण, व्यवस्थापन र सुविधा प्रदान हुनुपर्नेमा प्रेससँग असम्बन्धित रहेको सुशासनसम्बन्धी ऐनमा टेकेर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रवधानसहित निर्देशिका जारी हुनु आपत्तिजनक रहेको जनाएको छ।

महासंघले निर्देशिकाको बुँदा नम्बर ११ र २१मा महासंघले आपत्ति प्रकट गर्दै ती बुँदा खारेजीको माग गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell