
काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा निधन भएका नेपालीहरुको शव र घाइतेलाई नेपाल ल्याउन सरकारले जहाज पठाउने भएको छ।
आज बिहान ट्वीट गरेर परराष्ट्र मन्त्री कमल थापाले यसबारे जानकारी गराएका छन्। उनले लेखेका छन्, 'अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका नेपालीहरुको शव र घाइतेहरु लिन सरकारले नेपालबाट जहाज पठाउने निर्णय गरेको छ।'
जहाज पठाउनेबारे आवश्यक तयारी भइरहेको समेत उनले उल्लेख गरेका थिए।
नेपाल वायुसेवा निगमका जहाज आजै त्यसतर्फ जाने र बुधबारसम्म शव र घाइतेहरुलाई नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा आज परराष्ट्र मन्त्रालयमा तीनै सुरक्षा निकाय, नेपाल वायु सेवा निगम, स्वास्थ्य मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायतका उच्च पदाधिकारीको बैठक बसेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जहाज चाँडै पठाउने तयारी भइरहेको बताएका छन्। मृतक र घाइतेलाई नेपाल ल्याउने व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूत तीर्थराज अर्याल त्यसतर्फ पुगिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोमबार बिहान भएको आत्मघाती बम विष्फोटमा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो। काबुलस्थित क्यानाडेली दूतावासमा सुरक्षा गार्डका लागि खटिएका नेपालीहरु चढेको बसमा आत्मघाती बस विष्फोट गराइएको थियो। आक्रमणमा १४ जनाको मृत्यु भएकोमा १२ नेपाली परेका छन् भने ७ जना घाइते भएका छन्।
मृतक १२ नेपालीहरु
१. चन्द्रबहादुर राना मगर, काठमाडौं२. विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
३. हरिबहादुर बरुवाल क्षेत्री, काठमाडौं
४. डम्बरबहादुर तामाङ, नुवाकोट
५. मधुसुदन कोइराला, नुवाकोट
६. लीलबहादुर गुरुङ, नुवाकोट
७. अमृतबहादुर थापा, लमजुङ
८. कृष्णबहादुर ढुंगाना, चितवन
९. सुकबहादुर गुरुङ, स्याङ्जा
१०. जितेन्द्रसिंह थापा, रुपन्देही
११. नवीनबहादुर क्षेत्री, पर्वत
१२. अंकुर तामाङ, सुनसरी
घाइतेहरु
१, मानबहादुर थापा, चितवन२, कृष्णबहादुर देउजा, चितवन
३, प्रेमबहादुर क्षेत्री, मोरङ
४, चेतप्रसाद शेरचन, म्याग्दी
५, कुमारबहादुर गुरुङ, गोरखा
६, अमृत रोकाय क्षेत्री, सुर्खेत
७, च्याङ्बा तामाङ, नुवाकोट