
बलिउड स्टार सलमान खान विवादमा आउनु नौलो विषय होइन। तर, यसपाला उनको बोलीले उनलाई नराम्ररी विवादमा तानेको छ। सुल्तान फिल्मको सुटिङका बारेमा सलमानले दिएको अभिव्यक्तिलाई लिएर अहिले बलिउड र त्यहाँका महिलावादी संगठनहरु तातेका छन्।
सलमान खानले एक अन्तर्वार्तामा फिल्म सुल्तानमा उनको थकाईलाई बलत्कृत महिलाको थकानसँग जोडेका थिए।
सामाजिक सञ्जालमा उनको अन्तर्वार्तालाई लिएर व्यापक बहसहरु भएका छन्।
सलमान खानले स्पटब्वायडटकममा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘सुल्तानको सुटिङ यति थकाइ लाग्ने थियो कि त्यो रेप भिक्टिम जस्तो थियो।’
उनको यस्तो भनाइ आउनासाथ भारतीय जनता पार्टीकी नेता शायना एनसीले कडा रुपमा त्यसको प्रतिवाद गरिन् र सलमानलाई माफी माग्न भनिन्।
यसै विषयलाई लिएर भारतको महिला आयोगले समेत सलमानलाई पत्राचार गरेर जवाफ मागेको छ। ७ दिनभित्र आयोगलाई जवाफ नदिएमा वा चित्त बुझ्दो जवाफ नआएमा उनीविरुद्ध मुद्दा दायर हुनसक्ने बताइएको छ।