काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा मारिएका नेपालीका लागि क्षतिपूर्ति माग गर्न सांसदहरुले सरकारलाई आग्रह गरेका छन्।
परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएर क्षतिपूर्ति माग गर्न उनीहरुले आजको व्यवस्थापिका संसदमा आवाज उठाएका हुन्।
सांसद राज्यलक्ष्मी श्रेष्ठले क्यानेडियन राजदूतावासको सुरक्षामा नेपालीहरु खटिएकाले क्यानाडासँग क्षतिपूर्ति माग गर्नुपर्ने तर्क गरिन्। उनले नेपालीहरुलाई सुरक्षा व्यवस्था नमिलाइएको तथा बुलेटप्रुफ गाडी र हतियारको प्रबन्ध नमिलाइएको प्रति आपत्तिसमेत प्रकट गरिन्।
त्यस्तै सांसद तेजुलाल चौधरीले पनि अफगान सरकारसँग नेपालीले ज्यान गुमाएकाले क्षतिपूर्ति माग गर्नुपर्ने बताए। 'परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउनुपर्छ,' उनले संसदमा भने।
सांसद प्रेम सुवालले भने काबुलमा नेपालीको हत्या हुनुमा सरकार नै दोषी रहेको आरोप लगाए। 'एक हजार ३३ म्यानपावरबाट एक सय ३३ मुलुकमा नेपाली पठाउँछन्,' सुवालले भने, 'वैदेशिक रोजगारीमा पठाएको होइन, बेचबिखन नै गरेको हो।' उनले द्वन्द्वग्रस्त र आन्तरिक द्वन्द्व भएको मुलुकमा नेपालीलाई पठाउन नहुने तर्क गरे।
सोमबार बिहान ५ बजेर ४० मिनेटमा अफगानिस्तानको काबुलमा भएको आतंककारी आत्मघाती हमलामा परी १२ जना नेपालीसहित १४ जनाले ज्यान गुमाएका थिए। घटनामा सात नेपाली घाइते भएका छन्।
मृतकको शव र घाइतेहरुलाई नेपाल ल्याउन नेपाल सरकारले नेपाल वायुसेवा निगमका जहाज आजै त्यसतर्फ पठाउने तयारी गरेको छ। यस विषयमा आज परराष्ट्र मन्त्रालयमा तीनै सुरक्षा निकाय, नेपाल वायु सेवा निगम, स्वास्थ्य मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायतका उच्च पदाधिकारीको बैठक बसेको थियो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जहाज चाँडै पठाउने तयारी भइरहेको बताएका छन्। मृतक र घाइतेलाई नेपाल ल्याउने व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूत तीर्थराज अर्याल त्यसतर्फ पुगिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।