PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

रातिदेखिको वर्षाको प्रभाव : कतै डुबान, कतै पहिरो



पहिलोपोस्ट

काठमाडौं : गए रातिदेखि भइरहेको वर्षाका कारण देशका विभिन्न ठाउँ डुबानमा परेका छन् भने कतिपय ठाउँमा पहिरो गएको छ।

पूर्वी झापाका विभिन्न ठाउँ डुबानमा परेका छन्। त्यहाँका करिब सय घरभन्दा  डुबानमा परेको प्रहरीले जनाएको छ।

भद्रपुर– ५ र ७ वडाको बस्तीमा पानी जमेर डुबानमा परेको छ। डुबानबाट प्रभावित बासिन्दालाई जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टरको नेतृत्वमा खटिएको टोली उद्धारमा खटिएको छ। जथाभाबी गरिएको जग्गा प्लटिङ र अव्यवस्थित ढल निकासका कारण ती बस्तीमा पानी जमेको स्थानीयवासीले बताएका छन्।

यस्तै रतुवा खोलामा आएको बाढीले दमक–१ का राजकुमार राईलाई बगाएपछि उनलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेका छन्। उनको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ। दमक नगरपालिका–९ लखनपुरमा पनि रतुवा खोलाको पानी पसेर ६ घर जोखिममा परेका छन्।
 

पश्चिमी तराई पनि जलमग्न

कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासका क्षेत्र पनि वर्षाका कारण जलमग्न भएका छन्।

निरन्तरको वर्षाका कारण भीमदत्त नगरपालिका–६ ऐठपुर, वनखेत, सालघारी र बजार क्षेत्रमा डुबान हुँदा केही परिवार समस्या परेमा छन्। उत्तरबाट आउने खहरे खोलाको पानीको निकास नहुनाका साथै बजार क्षेत्रमा ढलको निकास नहुँदा समस्या भएको हो।

धनगढी उपमहानगरपालिका क्षेत्रका कतिपय वडा पनि वर्षाबाट प्रभावित भएका छन्। पानीको निकास हुन नसक्दा वडा नं १, २, ३, ४, ५ का कतिपय टोलमा पानी जमेको छ। वडा नं ३ विशालनगर टोलका ७ घर डुबानमा पर्दा घरपरिवारलाई आवागमनमा समस्या भएको छ।

वर्षासँगै कैलाली जिविस, जिल्ला पशुसेवा कार्यालय, नेपाल टेलिकम लगायत कार्यालय परिसरमा पनि दुई/तीन फिट पानी जमेको छ।
 

बनेपा फेरि बाढीको चपेटामा

काभ्रेपलाञ्चोकको बनेपा अविरल वर्षाका कारण पुन प्रभावित बनेको छ। केही हप्ताअघि पनि वर्षासँगै बाढी पस्दा बनेपामा लाखौंको नोक्सान भएको थियो।

अविरल वर्षाका कारण बनेपास्थित बसपार्क, पुलबजार जलमग्न हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ आएको छ।

पुलबजार जलमग्न भएपछि अरनिको राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधनको बनेपा पुलबजारदेखि स्थानीय चारदोबाटोसम्म लाम लागेको छ। प्रहरीले बाटो खुलाउन प्रयास भइरहेको जनाएको छ।
 
बनेपाका खोला अतिक्रमण गरी घर निर्माण गरेका कारण बर्सेनि बर्खायाममा यस्तो समस्या झेल्नुपरेको छ।


नारायणगढ-मुग्लिन खण्डमा पहिरो

सामान्य वर्षात्सँगै नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन नपाउँदै भालुढुङ्गामा पहिरो खसेपछि आवागमन एकतर्फी मात्र सञ्चालनमा आएको छ।

मुग्लिनबाट चारकिलो नारायणगढतर्फ चन्डिभन्ज्याङ–५ स्थित चार किलो भन्ने ठाउँमा सडकमाथिबाट बिहान पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।

मध्याह्न १२ बजे मुग्लिनबाट ९ किमिमा पर्ने भालुढुङ्गामा पहिरो खसेपछि सो स्थानमा पनि सडक एकतर्फी मात्र सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए।राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell