
सन् २०१२ को युरो फाइनलमा प्रतिस्पर्धा गरेका स्पेन र इटली युरो २०१६ को अन्तिम १६ मै भिड्ने भएका छन्।
फ्रान्समा जारी युरो अन्तर्गत समूह डी को अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित भएपछि स्पेन समूह डी को उपविजेता बन्दै इटलीसँगको भेट पक्का गरेको हो।
कप्तान सर्गियो रामासेले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न नसकेपछि एक गोलको अग्रता लिएर पनि स्पेन क्रोएसियासँग २–१ ले पराजित भएको हो।
खेलको सातौ मिनेटमै अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए। तर स्पेनको अग्रता लामो समय टिक्न सकेन। पहिलो हाफको अन्त्यतिर क्रोएसियाका निकोला कालिनिकले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
७२ औं मिनेटमा स्पेनले पेनाल्टी प्राप्त गरेको थियो। तर रामोस पेनाल्टीमा गोल गर्न असफल रहे। ८२ औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाए।
जितपछि क्रोएसिया तीन खेलबाट ७ अंक जोड्दै समूह डी को विजेता बन्यो भने स्पेन ६ अंक सहित उपविजेता बनेको छ।
क्रोएसियाले अब अन्तिम १६ मा समूह समूह बी वा ई वा एफको तेस्रो स्थानमा रहनेमध्ये एक टीमसँग खेल्नेछ।