
लियोनल मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड आफ्नो नाममा लेखाएका छन्। मेसीले गाब्रीएल बाटिस्टुटालाई पछि पार्दै सर्वाधिक ५५ गोल गरेका छन्।
अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत अमेरिका विरुद्धको सेमिफाइनलमा गोल गर्दै मेसीले रेकर्ड कायम गरेका हुन्। मेसीले ३२ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै उक्त उपलब्धी हात पारेका हुन्।
यसअघि भेनेजुएला विरुद्धको खेलमा गोल गर्दै मेसीले गाब्रीएल बाटिस्टुटाको नाममा रहेको ५४ गोलको बराबरी गरेका थिए।
सन् २००६ मा क्रोएसिया विरुद्ध मेसीले अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका मेसीले ११२ खेलमा अर्जेन्टिनाका लागि ५५ गोल गरेका हुन्।
जसमध्ये २७ गोल मैत्रिपुर्ण खेलमा, १५ गोल विश्वकप छनोटमा, ५ गोल विश्वकपमा र ८ गोल कोपा अमेरिकामा गरेका छन्। मेसीले सन् २००८ मा अर्जेन्टिनालाई ओलम्पिक गोल्ड मेडल जिताउने क्रममा ४ खेलमा २ गोल समेत गरेका छन्। यस्तै मेसीले अर्जेन्टिनाका लागि चार ह्याट्रिक पनि गरेका छन्।
सबैखाले प्रतियोगितामा गरेर मेसीको गोलसंख्या ५७ पुगेको छ भने बाटिस्टुटाको ५६ रहेको छ । सन् १९९५ मा बाटिस्टिुटाले स्लोभाकियाको युवा टीम विरुद्ध गरेको दुई गोल सिनियर टीममा सामेल गरिएको छैन।
यस्तै मेसी अमेरिकामा जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छन्। ५ गोल गरेको मेसी चिलीका भर्गास भन्दा पछि छन्। भर्गासले ६ गोल गरेका छन्। समूह चरणको दोस्रो खेलमा मेसीले पानामा विरुद्ध ह्याट्रिक गरेका थिए।