लियोनेल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना अमेरिका जारी कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो।
प्रतियोगिता अघि देखि नै उपाधिको दाबेदारका रुपमा रहेको अर्जेन्टिनाक लागि तिनै फरवार्डले गोल गरे। खेलको तेस्रो मिनेटमै अर्जेन्टिनाले आयोजक अमेरिका विरुद्ध अग्रता लिएको थियो।
कप्तान लियोनल मेसीको पासमा एजेक्वेल लाभेज्जीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। ३२ औं मिनेटमा मेसीले फ्रिकिक मार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। उक्त गोलसँगै ५५ गोल गरेका मेसी अर्जेन्टिनाको लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन्।
पहिलो हाफमा दुई गोलले पछि परेको आयोजक अमेरिका दोस्रो हाफमा पनि विश्व नम्वर एक टीम विरुद्ध निरिह रह्यो भने अर्जेन्टिनाले दुई गोल थप्यो। ५० औं मिनेटमा गोन्जालो हिग्वेनले गोल गर्दै अर्जेन्टिनालाई ३–० को अग्रता दिलाए। ८६ औं मिनेटमा मेसीको पासमा हिग्वेनले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई शानदार जित दिलाए।
अर्जेन्टिनाले अब फाइनलमा कोलम्विया र चिली बीचको विजेतासँग खेल्नेछ।