PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

काबुल आक्रमणमा मारिएकाको शव लिएर निगमको विमान काठमाडौँ आउँदै, प्रम विमानस्थल जाने



पहिलोपोस्ट

काबुल आक्रमणमा मारिएकाको शव लिएर निगमको विमान काठमाडौँ आउँदै, प्रम विमानस्थल जाने

काठमाडौं : काबुल हमलामा मारिएका र घाइते नेपालीहरु लिनका लागि आज बिहान काठमाडौंबाट उडेको नेपाल वायुसेवा निगमको चार्टर गरिएको विमान अफगानिस्तानबाट आज दिउँसो काठमाडौँ फर्कँदैछ। 

विमान अवतरण गर्ने समयमा प्रधानमन्‍त्री केपी ओली र परराष्ट्र मन्त्री कमल थापा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम तय भएको छ। 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एअरबस बिहान करिब ६:३० बजे अफगानिस्तानको राजधानी काबुल अवतरण गरेको हो। विमान बिहान साढे ११ बजे काठमाडौँ फर्किने सेड्युल भए पनि उताबाट उड्न समय लागेको छ। 
 
सोमबार काबुलमा भएको आत्मघाती तालिवानी हमलामा परी मृत्यु भएका १२ जना नेपाली र अन्य घाइते लिनका लागि विमान बिहान साढे ३ बजे त्यसतर्फ उडेको थियो।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अफगानिस्तानसम्म नेपालको सिधा उडान अनुमति नभएकोले भारत, पाकिस्तान र भारतसँग ओभर फ्लाइङ पर्मिसन लिएर त्यसतर्फ उडाइएको हो।
 
परराष्ट्र मन्त्रालयले चार्टर गरेको विमानमा सेनाबाट तीन जना, प्रहरीका दुई जना, वैदेशिक रोजगार विभागका एक जना प्रतिनिधि तथा गृह र परराष्ट्र मन्त्रालयका एक-एक प्रतिनिधि रहेका मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।
 
प्रवक्ता पौडेलका अनुसार विमानको पहिलो प्राथमिकता शव र घाइते ल्याउने भए पनि त्यहाँ रहेका स्वदेश फर्कन चाहने नेपालीलाई क्षमताले भ्याएसम्म एयरलिफ्ट गरिनेछ।

अफगानिस्तानमा औपचारिक रुपमा नगएकाहरु समेत गरी १० हजार जना नेपाली रहेको अनुमान छ।
 
अफगानिस्तानमा रहेका नेपाल फर्कन चाहनेहरुले काबुल पुगेका कार्यवाहक राजदूतलाई मोबाइल नम्बर +923045441953  वा इमेलः   [email protected][email protected] सम्पर्क गर्न सक्नेछन्।



फोटो : केदार सङ्केत

फोटो : सुनिल कुमार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell