
फ्रान्समा जारी युरोकप २०१६ अन्तर्गत आज समूह चरणका अन्तिम चार खेलहरु हुँदैछन्।
समूह 'एफ'अन्तर्गत आइसल्याण्डविरुद्ध अष्ट्रिया तथा हंगेरीविरुद्ध पोर्चुगलको खेल राति ९ः४५ बजे हुनेछ। यस्तै समूह 'ई'अन्तर्गत इटलीविरुद्ध आयरल्याण्ड र स्वीडेनविरुद्ध बेल्जियमको खेल मध्यरात १२ः४५ बजे हुनेछ।
समूह 'एफ'बाट अहिलेसम्म औपचारिक रुपमा कुनै पनि टीम अन्तिम १६ मा पुगिसकेको छैन। चार वटै टीमको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कायमै छ। तर २ खेलबाट ४ अंक जोडेको हंगेरी समूह 'ई'बाट अन्तिम १६ मा पुग्ने भने निश्चित छ।
पोर्चुगल विरुद्धको खेलमा जित वा बराबरीले पनि हंगेरी समूह विजेता बन्नेछ।
पोर्चुगलको लागि भने हंगेरी विरुद्धको खेल जित्नैपर्ने बाध्यता छ। हंगेरीविरुद्ध जित हात पारे पोर्चुगल समूह विजेता बन्ने सम्भावना छ।
अर्को खेलमा आइसल्याण्ड र अष्ट्रिया खेल्दैछन्। आइसल्याण्डका लागि नकआउट चरण पुग्न अष्ट्रियालाई हराउनैपर्नेछ। बराबरीले पनि सम्भावना रहनेछ भने पराजित भए समूह चरणबाटै बाहिरिनेछ।
अष्ट्रियाको हकमा भने जितबाहेक अर्को विकल्प छैन। आइसल्याण्डलाई हराएको खण्डमा नकआउट चरणको सम्भावना कायमै रहन्छ भने बराबरी वा हारले समूह चरणबाटै बाहिरिनेछ।
यस्तै समूह 'ई'बाट इटली यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। लगातार २ खेल जितेको इटली समूह विजेता बन्ने निश्चित छ। इटलीको लागि आयरल्याण्डसँगको खेल औपचारिका हुनेछ भने अन्तिम १६ को सम्भावना कायम राख्न आयरल्याण्डले इटलीलाई हराउनैपर्नेछ।
समूह 'ई'कै अर्को खेलमा स्वीडेन र बेल्जियम भिड्दैछन्। नकआउट चरणमा पुग्न दुवै लागि खेल जित्नुको विकल्प छैन। इटलीले आयरल्याण्डलाई पराजित गरे वा बराबरी खेले बेल्जियमको लागि स्वीडेनविरुद्ध खेल बराबरी गरे पनि नकआउट चरण पुग्नेछ। स्वीडेनका लागि नकआउट चरण प्रवेश गर्न बेल्जियमलाई हराउनैपर्ने बाध्यता छ।
यी ४ खेलपछि नकआउट चरण प्रवेश गर्ने १६ वटै टीमको टुङ्गो लाग्नेछ भने अन्तिम १६ मा खेल्ने टीमहरुको समीकरण पनि पूरा हुनेछ।
२४ टीमको सहभागिता रहेको युरोमा अहिलेसम्म १० टीम नकआउट चरणमा प्रवेश गरेका छन्। ६ समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा समूहको शीर्ष २ स्थानमा रहने १२ टीम र तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टीम अन्तिम १६ मा प्रवेश गर्ने व्यवस्था रहेको छ।
युरोमा यसै संस्करणबाट पहिलो पटक २४ टीमले सहभागिता जनाएका छन्। यसअघि १६ टीमको सहभागिता रहँदै आएकोमा यो पटक ८ टीम बढाइएको हो।
अहिलेसम्म ४ समूहको शीर्ष २ मा रहने ८ र तेस्रो स्थानमा रहने उत्कृष्ट २ टीम अन्तिम १६ का लागि छनोट भइसकेका छन्।
अन्तिम १६ मा प्रवेश गरिसकेका १० टीमहरु
१. फ्रान्स : समूह ए विजेता२. स्विट्जरल्याण्ड : समूह ए उपविजेता
३. वेल्स : समूह बी विजेता
४. इंगल्याण्ड :समूह बी उपविजेता
५. जर्मनी :समूह सी विजेता
६. पोल्याण्ड : समूह सी उपविजेता
७. क्रोएसिया : समूह डी विजेता
८. स्पेन : समूह डी उपविजेता
९. स्लोभाकिया : समूह बी तेस्रो स्थान
१०. उत्तरी आयरल्याण्ड : समूह डी तेस्रो स्थान