.jpg)
काठमाडौं : आत्मघाती आक्रमणमा मारिएका र घाइते नेपालीहरु लिनका लागि अफगानिस्तान पुगेको नेपाल वायुसेना निगमको चार्टर गरिएको विमान काबुल विमानस्थलबाट स्थानीय समय अनुसार १० बजेर ५१ मिनेट (नेपाली समय अनुसार मध्याह्न १२ बजेर ६ मिनेटमा) उडेको छ।
विमान करिब ३ घण्टाको यात्रापछि काठमाडौँमा अवतरण गर्नेछ। प्रधानमन्त्री केपी ओली र परराष्ट्र मन्त्री कमल थापा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने बताइएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एअरबस बिहान करिब ६:३० बजे अफगानिस्तानको राजधानी काबुल अवतरण गरेको थियो। विमान बिहान साढे ११ बजे काठमाडौँ फर्किने सेड्युल भए पनि उताबाट उड्न समय लागेको थियो।
सोमबार काबुलमा भएको आत्मघाती तालिवानी हमलामा परी मृत्यु भएका १२ जना नेपाली र घाइते लिनका लागि विमान बिहान साढे ३ बजे त्यसतर्फ उडेको थियो।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अफगानिस्तानसम्म नेपालको सिधा उडान अनुमति नभएकोले भारत, पाकिस्तान र भारतसँग ओभर फ्लाइङ पर्मिसन लिएर त्यसतर्फ उडाइएको हो।
परराष्ट्र मन्त्रालयले चार्टर गरेको विमानमा सेनाबाट तीन जना, प्रहरीका दुई जना, वैदेशिक रोजगार विभागका एक जना प्रतिनिधि तथा गृह र परराष्ट्र मन्त्रालयका एक-एक प्रतिनिधि रहेका मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।
प्रवक्ता पौडेलका अनुसार विमानको पहिलो प्राथमिकता शव र घाइते ल्याउने भए पनि त्यहाँ रहेका स्वदेश फर्कन चाहने नेपालीलाई क्षमताले भ्याएसम्म एयरलिफ्ट गरिनेछ।
अफगानिस्तानमा औपचारिक रुपमा नगएकाहरु समेत गरी १० हजार जना नेपाली रहेको अनुमान छ।
फोटो : केदार सङ्केत
फोटो : सुनिल कुमार