PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

फोटोमा हेर्नुस् काठको बाकसमा आउने शवलाई कुर्दै अलपत्र आफन्त

फोटोमा हेर्नुस् काठको बाकसमा आउने शवलाई कुर्दै अलपत्र आफन्त

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : त्यसै पनि उनीहरुमाथि बज्रपात भएको छ। सहन गाह्रो भएको छ। अफगानिस्तानमा उनीहरुका प्रिय आफन्तजनले ज्यान गुमाएका छन्। त्यसमाथि सरकारले कुनै समन्वय नगरिदिँदा उनीहरुको मन झन् कुँडिएको छ। 

नेपाल सरकारले घाइते र मृतकको शव फर्काउन जुन तदारुकता देखायो, त्यसको प्रशं‌सा भइरहेको छ। सरकारले नेपाल एयरलाइन्सको विमान चार्टर गरी काबुल पठाएर शव र घाइते अनि स्वदेश फर्कन चाहने नेपालीलाई एयरलिफ्ट गरेको छ। 

तर आफूहरुलाई आधिकारिक रुपमा कुनै जानकारी नदिइएकोमा आफन्त असन्तुष्ट छन्। मृतकमध्येका एक आफन्त बच्चुराम ढुंगाना भन्छन्- हामीलाई त केही पनि जानकारी छैन। समाचार सुनेको भरमा आएका हौँ। 

'शवलाई घरसम्म लगिदिने हो कि के गर्ने हो थाहा छैन, कहिलेसम्म प्लेन आइपुग्छ त्यो पनि थाहा छैन', उनले भने। 

अफगानिस्तानबाट विमान आउने खबर सार्वजनिक भएपछि विमानस्थलमा मिडियाको पनि घुँइचो लागेको छ। तर पीडित आफन्तहरु मिडिया फेस गर्ने मन छैन। उनीहरुलाई बस्ने ठाउँसम्म गतिलो छैन। विमानस्थल बाहिरको एक कुनामा काखे बालकलाई बोतलको दूध खुवाउँदै गहभरी आँसु राखेर काठको बाकसमा आउन लागेका आफन्तजनको पर्खाइको पीडा शायद् कसैले अनुमान गर्न सक्दैनन्। 

अफगानिस्तानमा सोमबार भएको आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो। शव र घाइते बोकेर निगमको विमान मध्याह्न १२ बजे काबुलबाट उडेको छ। अपराह्न ३ बजेको हाराहारीमा विमान काठमाडौँ पुग्दैछ। 


ट्रेन्डिङ पोस्ट

Ncell