
खेलाडीका विश्वभर कैयौं समर्थक हुन्छन्। आफ्नो पक्षबाट मात्र होइन कहिलेकाहीँ विपक्षी समर्थकबाट पनि खेलाडीले समर्थन पाइरहेका हुन्छन्। सबैलाई आफ्नो समर्थक ठाने पनि खेलाडीले व्यक्तिगत रुपमा भने कसैलाई चिन्दैनन्।
समर्थकको भने एउटै मात्र चाहना हुन्छ- आफूले मन पराएको खेलाडीलाई भेट्ने, सँगै फोटो खिच्ने, अटोग्राफ लिने इत्यादि।
विश्व फुटबलमा यस्ता केही नाम छन्, जसलाई भेट्न समर्थकले मरिहत्ते गर्छन्। ठिक यस्तै भयो कोपा अमेरिका सेन्टेनारियो अन्तर्गत अर्जेन्टिना र अमेरिकाबीचको खेलमा।
अमेरिकामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ४–० ले जित्यो, टीममात्र होइन खेलाडीले पनि दर्शक र समर्थकको मन जिते।
जब रेफ्रीले खेल सकिएको अन्तिम सिटी फुके, तब एक समर्थक दौडेर मैदानभित्र पसे। अर्जेन्टिनाका स्टार लियोनल मेसी नजिक पुगे र मेसीको खुट्टा ढोग्न खोजे।
मेसीलाई निकै मन पराउने ती समर्थकले अर्जेन्टिनाको सेतो र निलो मिसिएको जर्सी लगाएका थिए। त्यसपछि मेसीले समर्थकको जर्सीमा अटोग्राफ दिए अनि अंकमाल गरे।
यस्तै, दोस्रो हाफ सुरु हुनुअघि एक समर्थक जर्सी नै बोकेर मैदान प्रवेश गरेका थिए। तर, उनलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले बाहिर लिएर आए।
फोटो : एएफपी