
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ वर्षदेखि हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेशन तोकिएकै मितिमा निष्पक्ष सम्पन्न हुने बताएका छन्।
प्रतिनिधिमाथिको प्रतिवेदन बुझाउन देउवा निवास पुगेका करिब दुई सय विद्यार्थी नेता र कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले ढुक्क हुन आग्रह गरे।
साउन २३ देखि काठमाडौंका हुने एघारौं महाधिवेशनमा नक्कली प्रतिनिधिको बोलबाला रहेको र नेविसंघ नेतृत्वले विवाद टुंगिएको भनिएका ६४ जिल्लामा नै ६ सयभन्दा बढी प्रतिनिधि नक्कलि रहेको भन्दै प्रतिवेदन बुझाउन एक टोली देउवा निसास पुगेको थियो।
नेविसंघ नेता कुन्दन काफ्ले, युवराज पाण्डेय, जित शेरचन, डिल्लीराम सुवेदी, कृष्णकुमारी बस्नेत, तुलसा पन्त लगायतको नेतृत्वमा पुगेका नेताहरुले विवादित २२ जिल्ला, विश्वविद्यालय र उपत्यकाका क्याम्पसहरुमा विधिवत अधिवेशन तथा भागबण्डा गरी बनाइएका नक्कली प्रतिनिधि खारेज गर्न माग गरेका थिए।
जवाफमा देउवाले पार्टी केन्द्रीय समितिबाट निर्देशन समिति गठन हुने र सो समितिले नै न्यायिक छानबिन गरी महाधिवेशन सुनिश्चित गरिने भन्दै आश्वस्त पारेक थिए।
हालै सम्पन्न नेविसंघ केन्द्रीय समितिले साउन २३-२५ लाई महाधिवेशनको मिति तोकेर विवाद समाधानका निमित्त ७ सदस्यीय कार्यदल बनाएको थियो। तर सो कार्यदललाई साउन ५ सम्म प्रतिवेदन बुझाउने म्याद दिनुका पछाडि नेविसंघ नेतृत्वको महाधिवेशन नगर्ने नियत रहेको आरोप समेत विद्यार्थी नेताहरुले लगाएका छन्।
महाधिवेशनमा महामन्त्रीका आकांक्षी समेत रहेका विद्यार्थी नेता डिल्लीराम सुवेदीले
अन्तिम समयमा आएर प्रतिनिधि भागबण्डा गर्न खोजिएको बताए। 'साउन २३ मा महाधिवेशन तोक्ने तर १५ सय महाधिवेशन प्रतिनिधिमा रहेको विवादबारे प्रतिवेदन बुझाउने कार्यदलको म्याद साउन ५ सम्म राख्नुले त्यो प्रस्ट हुन्छ,' उनले भने, 'महाधिवेशन पक्षधर विद्यार्थीलाई यो कदापि स्वीकार्य हुन सक्दैन। विवादको निरुपण विधिवत अधिवेशन र महाधिवेशन नै हो।'
संघका केन्द्रीय अध्यक्ष रञ्जित कर्ण हाल देशबाहिर रहेकाले उनी फर्किएपछि महाधिवेशनका निमित्त आवश्यक निर्देशन र वातावरणबारे कुरा गर्नेसमेत सभापति देउवाले बताएका छन्।