PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

ग्यास उद्योग संघ र पीडित परिवारबीच पाँच बुँदे सहमति, ग्यास हड्ताल फिर्ता हुने



पहिलोपोस्ट

ग्यास उद्योग संघ र पीडित परिवारबीच पाँच बुँदे सहमति, ग्यास हड्ताल फिर्ता हुने

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघ र पीडित परिवारबीच पाँच बुँदे सहमति भएको छ।

एचपी ग्यास विस्फोट भएर मृत्यु भएका परिवारका सदस्य र संघबीच बुधबार सहमति भएको हो।

सहमतिमा संघका अध्यक्ष शिवप्रसाद घिमिरे तथा उपाध्यक्ष गोकुल भण्डारी, पीडित परिवार र ताम्राकार समाजले हस्ताक्षर गरेका छन्। पाँच बुँदे सहमतिपछि संघर्ष समितिबाट हुँदै आएको विरोधका कार्यक्रम फिर्ता भएका छन् भने ग्यास उद्योगीको आन्दोलन समेत केही बेरमा फिर्ता हुनेछ।

आपूर्ति मन्त्रालयमा हुने छलफलमा एचपीको ग्यास खरिद आदेश बन्द (पिडियो) बन्द गर्ने निर्णय फिर्ता हुनेछ। यो निर्णय फिर्ता भएपछि ग्यास उद्योगीको हड्ताल पनि रोकिनेछ।
 
सहमतिपछि पीडित परिवारले ४० लाख रुपैयाँ एकमुष्ट पाउने भएका छन्। यो रकम ताम्राकार समाजले पीडित परिवारलार्इ हस्तान्तरण गर्नेछ। उपचारको लागि एचपी ग्यासले दिएको एक लाख रुपैयाँ पीडित परिवारलार्इ छुट्टै रकमको रुपमा लिइने सहमति भएको छ। यो रकम पाइसकेपछि पीडित परिवारले बीमाको रकम हकदाबी नगर्ने र बीमाका लागि संघलार्इ सघाउने सहमति भएको छ ।
 
एचपीको सिलिन्डर पड्किएर ललितपुरमा तीन जनाको मृत्यु भएपछि सरकारले  ग्यास खरिद आदेश बन्द (पिडियो) बन्द गर्ने निर्णयको विरोध गर्दै ग्यास उद्योगी हड्तालमा उत्रिएका थिए। उद्योगीले पिडियो लिने प्रक्रिया बिहीबारदेखि सुरु हुनेछ। संघको अगुवाइमा भएको हड्तालमा मंगलबार मात्रै पिडियो उठेन। ग्यासको पिडियो एक दिन नउठ्दा अभाव हुने समस्या रहँदैन। अझ उद्योगीले सोमबार नै चाहिनेभन्दा बढी पिडियो लिएका थिए।

एचपी ग्यासको सिलिन्डर विस्फोटमा उद्योगको नभर्इ प्रयोगकर्ताको असावधानीले भएको सरकारी प्रतिवेदन सोमबार सार्वजनिक भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell