PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काबुलबाट काठमाडौं फर्केका भन्छन्- 'अब यहीँ केही गरेर खाने हो'



सविन ढकाल

काबुलबाट काठमाडौं फर्केका भन्छन्- 'अब यहीँ केही गरेर खाने हो'

काठमाडौं : बुधबार करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज ओर्लियो। विमानमा गत सोमबार अफगानिस्थानको काबुलमा आत्माघाती बम आक्रमणमा परी मृत्यु भएका १२ जनाको कफिनमात्र थिएन, त्यही कफिनसँगै टुलुटुलु साथीको मृत्युको क्षण हेर्दै पराजित मानसिकतामा फर्किँदै गरेका २५ युवा पनि थिए।

त्यहीभित्र एक पात्र थिए- आइसिङ तामाङ। नुवाकोटका ४० वर्षीय तामाङको हातमा एउटा ब्यागमात्र थियो। तर उनी शरीर फर्किँदा त्यसैलाई ठूलो सम्पत्ति ठान्दै थिए। दु:खीजनको बीचमा उनको अनुहारमा थोरै भए पनि खुसीको आभा थियो।

विमानस्थलमा ओर्लिनेबित्तिकै उनले परिवारलाई सकुशल फर्केको सुनाए। ‘सबैभन्दा धेरै खुसी परिवारमा छाएको छ,‘ भने।


५ वर्ष काबुलमा साब्रे इन्टरनेशनल कम्पनीमा काम गरेका उनी एकाएक मुलुक फर्किएका हुन्। कम्पनीबाट पाउनुपर्ने सेवा सुविधा र तलबै छाडेर उनी फर्किएका छन्। ‘आत्माघाती बममा परी आफ्नै अघिल्तिर साथीहरुको मृत्यु भएपछि बस्नै मन लागेन अनि फर्किएँ,’ उनीसँग सबै त्यागेर फर्किनुको कारण यही थियो।

नवराज खड्का पनि बुधबारै काबुलबाट काठमाडौं फर्किए। ‘म नाइट सिफ्टमा काम गर्दै थिएँ। साथीहरु पालो दिन आउँदै थिए। अचानक ठूलो आवाज आयो। बुझ्दा त हामीलाई पालो दिन आएका सार्थीहरुको मृत्यु भएको रहेछ,’ उनले भने, ‘लकले बाचेर फर्किएँ।‘

साथीहरुको मृत्युपछि खानासमेत खान सकेनन् यिनले। अब जसोतसो देशमा नै केही गरेर बस्ने उनको सोच छ।

प्युठानका बिक्रम विष्ट छुट्टीमा घर आएर काबुल गएको २० दिन पनि भएको थिएन। उनी पनि सोमबारको घटना पछि बुधबार स्वदेश फर्किएका छन्। ‘तामिलले अबको २७ तारिकमा फेरि आक्रमण गर्ने भन्ने सुनियो,’ उनले त्यहाँको त्रासमय जीवनबारे सुनाए, ‘त्यसपछि बस्नै मन लागेन।‘


उनीहरु जुन कम्पनीका लागि काम गर्थे त्यो त्यति राम्रो रहेनछ। ‘क्यानेडियन एम्वेसी नपुगेसम्म मर्ने बाच्ने टुङ्गो हुँदैन थियो। एकदम असुरक्षित थियौं,’ उनले सुनाए।

२०६३ सालमा नेपाली सेनाको जागिर छाडेर अफगानस्थिन पुगका थिए इटहरीका बीरबहादुर तामाङ। ‘देशमा राम्रो रोजगारी छैन त्यसैले ज्यान नै बाजी मारेर काबुल गइयो,’ तामाङले सुनाए, ‘दूताबास नपुगेसम्म हतियार दिँदैन थियो त्यसैले सुरक्षाको महसुस नै गर्न पाइएन।‘

‘महिनामा ८ सय डलरको लागि कति जोखिम मोल्नु? अरु साथीहरु पनि साव्रे कम्पनी छोडेर आउन इच्छुक छन्,’ उनले थपे।

अफगानस्थिानको काबुलमा रहेको क्यानेडियन एम्वेसीमा सार्वे कम्पनीका १ सय ४७ जना नेपाली कामदार सेक्युरिटी गार्डका रुपमा कार्यरत छन्। जसमा सोमबार १२ जनाको मृत्यु भयो। ७ जना घाइते छन्। अहिले ३२ जना घरबिदामा छन्। बाँकी जति छन् सबै फर्कन चाहन्छन्।

जो फर्किए

नुवाकोट
रत्नबहादुर तामाङ
विक्रमप्रसाद तामाङ
पूर्णबहादुर गुरुङ
रौत तामाङ
प्रेम तामाङ
इन्द्र तामाङ
सुप तामाङ
लालबहादुर तामाङ
आइतसिंह तामाङ


कास्की
बेलप्रसाद गुरुङ
मणिराम खनाल
पूर्णबहादुर गुरुङ
खेमबहादुर गुरुङ
भगवान बञ्जारा

प्युठान
विक्रम विष्ट

तनहुँ
केयरसिंह राना

मोरङ
खुसीलाल धिमाल

सुनसरी
वीरबहादुर खत्री

काभ्रे
श्याम तामाङ

काठमाडौं
नवराज खड्गी
चमकसिंह राई

पाल्पा
मानबहादुर थापा

चितवन
सत्यनारायण श्रेष्ठ
गोरखा
दुर्गा लामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell