PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

छोराको न्वारान गरेर काबुल उडेका जितेन्द्र फर्किए, तर सुन्न पाएनन् तोतेबोली



सविन ढकाल

छोराको न्वारान गरेर काबुल उडेका जितेन्द्र फर्किए, तर सुन्न पाएनन् तोतेबोली

काठमाडौं : चार महिनाको शिशुलाई लिएर असारे झरीमा रुज्दै त्रिभुवन विमानस्थल पुगेकी थिन्, सञ्जिता लामा थापा। उनको काखमा शिशु त छँदै थियो, उसैलाई पिलाउनका लागि दूधको बोतल पनि बोकिरहेकी थिइन्।

आफ्ना मृतक पति जितेन्द्रसिह थापाको शव बुझेर अन्त्येष्टि गर्नुमात्र उनको त्यो पर्खाइ थियो। गत फागुनमा कान्छी श्रीमती बनेर उनी जितेन्द्रको जीवनमा गाँसिन आइपुगेकी थिइन्। जेठी श्रीमती गोमति थापाले धर्म परिवर्तन गरेर छाडी गएपछि जितेन्द्रले सञ्जितालाई भित्र्याएका थिए।

सुखमय वैवाहिक जीवन बिताएका उनीहरुको जीवनमा अर्को खुसी बनेर आएका थिए, जेनिस। जेनिस जन्मिएर ११ दिनपछि न्वारन गरेर जितेन्द्र कामको सिलसिलामा अफगानिस्ताको काबुल लागे। तर जितेन्द्रलाई के थाहा- छोराले तोतेबोलीमा बाबा भन्दै बोलाएको सुन्न पाउदिनँ भन्ने।

आइतबार बेलुकामात्र उनले श्रीमतीलाई फोन गरेर छोराको बारेका सोधेका थिए। छोराको बारेमा मात्र सोधेनन् उनले, श्रीमतीको खातामा दुई लाख पनि पठाएका थिए। तर त्यो दुई लाख नै सञ्जिताको लागि श्रीमानको अन्तिम कमाइ बन्यो।

निकै भावविह्वल अवस्थामा विमानस्थल पुगेकी सञ्जिता बाकसमा रहेको पतिको शरीर हेरेपछि अचेत बनेकी थिइन्।

केही दिनअघि जितेन्द्रले नराम्रो सपना देखेको बारे सुनाएका थिए। सपना र यथार्थ उस्तै भएकोमा सञ्जिताकी दिदी विमला थापा चुकचुकाइरहेकी थिइन्।

'ज्वाइँले केही दिनअघि बहिनीलाई कस्तोकस्तो सपना देखिरहेको छु, बाँच्छु कि बाँच्दिन होला भनेका रहेछन्,' विमलाले सुनाइन्, 'म मेरेर गए पनि मेरो अन्तिम दाहसंस्कार पशुपतिको आर्यघाटमा गर्दिनुहोला भनेका रहेछन्।'

तर उनको शव कता लग्ने भनेर एकछिन विमानस्थलमा विवाद नै भयो। अन्ततः उनको शव बुटवलतर्फ लगिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell