
इटलीलाई पराजित गर्दै आयरल्याण्ड युरो २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ।
अप्रत्यासित नजिता निकाल्ने क्रममा आयरलयण्डले इटलीलाई १–० ले हरायो। जितसँगै आयरल्याण्ड तेस्रो उत्कृष्ट चार टीम भित्र पर्न सफल भयो र अन्तिम १६ मा प्रवेश पायो।
दुई खेल जित्दै समूह विजेता बनिसकेको इटलीको लागि आयरल्याण्ड विरुद्धको खेल औपचारिकता जस्तो थियो र टीममा आधा भन्दा बढी खेलाडी परिवर्तन गरिएको थियो। तर आयरल्याण्डको लागि भने नकआउट चरणमा स्थान बनाउन इटलीलाई हराउनैपर्ने बाध्यता थियो।
तर इटलीलाई हराउन आयरल्याण्डलाई सहज भने भएन। खेल जित्न अन्तिम क्षणसम्म कुर्नुपर्यो। आयरल्याण्डका लागि ८५ औं मिनेटमा रोबर्ट ब्राडीले निर्णायक गोल गरे।
जितसँगै तीन खेलबाट चार अंक जोडेको आयरल्याण्ड तेस्रो स्थानमा रहने टीम मध्ये दोस्रो उत्कृष्ट बन्यो। आयरल्याण्डले अब अन्तिम १६ मा फ्रान्सको सामना गर्नेछ।
समूहको अन्तिम खेल खेल्नु अघि नै नकआउट चरणमा स्पेनसँग खेल्नुपर्ने भएपछि इटलीलले आयरल्याण्ड विरुद्धको खेलमा आठ खेलाडीलाई आराम दिएको थियो।
समूह ई बाट इटली ६ अंक सहित समूह विजेता बन्दा ६ अंक नै जोडेको बेल्जियम गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहँदै उपविजेता बन्यो।