PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

पौडेलले 'तपाईंहरु मजाले लड्नुहुन्छ' भनेको केहीबेरमै हानाहान, नेविस‌ंघ केन्द्रीय सदस्य घाइते



पहिलोपोस्ट

पौडेलले 'तपाईंहरु मजाले लड्नुहुन्छ' भनेको केहीबेरमै हानाहान, नेविस‌ंघ केन्द्रीय सदस्य घाइते

काठमाडौं : नेपाल विद्यार्थी संघको कार्यक्रममा हानाहान हुँदा केन्द्रीय सदस्य इन्दु शर्माको दायाँ गालामा चोट लागेको छ।

कार्यक्रम जारी रहेका बेला केन्द्रीय समितिमा समेत नभएकाहरुले 'महिलालाई बोल्न दिदैनस्' भन्दै कार्यक्रम नै भाँड्ने प्रयत्न गरेपछि कार्यक्रमस्थलमै हानाहान भएको हो।

आठ वर्षदेखि हुन नसकेको नेविसंघको अधिवेशन आगामी साउन २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ। यही कारण पनि संघको केन्द्रीय समितिमा भएका हुन् वा केन्द्रीय समितिमा जानका लागि आधार तयार पार्नेहरु; सबै चर्चामा छाउने ध्याउन्नमा छन्।

त्यही भयो, बुधबार संघको केन्द्रीय समितिले काठमाडौंको बागबजारस्थित एक होटलमा गरेको कार्यक्रममा।

महाधिवेशनलाई टार्गेट गरेर नेविसंघ केन्द्रीय समितिले कार्यक्रम राखेको थियो। कार्यक्रमको नाम थियो 'नेपाल विद्यार्थी संघको आसन्न ११औं महाधिवेशन र शिक्षा नीति'। प्रमुख अतिथि थिए- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल। पौडेलको लाइनमा थिए- कांग्रेसका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई र गुरुराज घिमिरे।

कार्यक्रम उद्घाटन गरेपछि सामान्य स्वागत भयो। प्रमुख अतिथि रहेका पौडेलले आफूलाई अन्य कार्यक्रममा जान हतार भएकाले समय मिलाइदिन भने। आयोजकले त्यो अवसर पनि मिलाइदिए। पौडेल अन्तिमसम्म बसेनन्। पहिले नै बोले।

भाषणमा पौडेलले सामान्य राजनीतिक विषय त बोले तर उनको चिन्ता नेपाल विद्यार्थी संघको संगठन बिग्रिएकोमा थियो। विगतमा नेविसंघको जुन साख थियो त्यो जोगाउने भन्दा पनि व्यक्तिवादी प्रवृति हाबी भएकोप्रति चिन्ता थियो उनको।

उनले संघको गौरवशाली इतिहासलाई जोगाउँदै अघि बढाउने भन्दा पनि व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको र राजनीतिक संस्कारको कमी देखिन थालेको बताए।

'हामी राजनीतिक संस्कार बसाउनका लागि र लोकतान्त्रिक व्यवस्था ल्याउनकै लागि पञ्चहरुसँग लड्यौं,' पौडेलले भने, 'तपाईंहरु अरुसँग लड्न सक्नुहुन्छ/सक्नुहुन्न थाहा छैन तर आपसमा मज्जाले लड्नुहुन्छ।' पौडेलले यसो भनेर प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल संगठन बनाउन संगठनमा सामूहिक भावनाको कमी भएको भन्दै त्यसको खोजी गर्न सुझाएका थिए।
 
तर, संघका विद्यार्थीहरुले त्यसलाई सिधा बुझे।

पौडेल बोलेर बाहिरिनासाथ कार्यक्रममा झगडा भयो। हात हालाहाल नै हुँदा नेविसंघका केन्द्रीय सदस्य इन्दु शर्मा घाइते भए। उनको दायाँ गालामा प्रहार भयो। गालाबाट रगत बग्न थाल्यो।

पौडेल बोलेर बाहिरिएपछि कार्यक्रम तालिकाअनुसार नेविसंघका पूर्वकेन्द्रीय सदस्य क्षितिज भण्डारी ड्यासमा बोल्दै थिए। त्यही क्रममा एक्कासि चर्को आवाज आयो। त्रिचन्द्र क्याम्पसका पूर्वस्ववियु सभापति प्रचण्ड न्यौपाने 'गुन्टु' 'महिलालाई बोल्न दिदैनस्' भन्दै कार्यक्रमस्थलतर्फ अघि बढे। उनीसँग साथ लागे नेविसंघ केन्द्रीय सदस्य इन्दु शर्मा पनि। त्यसपछि सबै उनलाई छेक्ने र साथ दिनेहरुको भिडभाड भयो।

त्यतिकैमा केही हानाहान पनि भयो। कसलाई कसले हान्यो भन्ने पनि पत्तो भएन भिडभाडमा। केही बेरको झडपपछि कांग्रेसका केन्द्रीय सदस्यहरुको अगुवाइमा झडप तत्कालका लागि साम्य भयो।

कार्यक्रममा फेरि पनि त्यस्तै अवस्था आउन सक्ने आँकलन आयोजकले गरे। कार्यक्रममा कांग्रेसका दुई केन्द्रीय सदस्य गोविन्द भट्टराई र गुरुराज घिमिरे सहित धेरै जनाले बोल्ने कार्यक्रम थियो। तर उनीहरुको झगडा बोल्नका लागि भन्दा पनि अर्कै प्रयोजनका लागि भएको निस्कर्ष निकालेर कार्यक्रम त्यहीँ स्थगित भयो।

अध्यक्ष रञ्जित कर्ण भारत भ्रमणमा रहेकाले कार्यवाहक सभापतिको जिम्मा पाएका सानुबाबु महर्जनले कार्यक्रम स्थगित गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell