कोपा अमेरिका सेन्टेनारियोको उपाधिका लागि अर्जेन्टिना र चिली भिड्ने भएका छन्।
बिहिबार बिहान भएको अन्तिम सेमिफाइनलमा दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको कोलम्वियालाई २–० ले पराजित गर्दै चिलीले अर्जेन्टिनासँगको भिडन्त पक्का गरेको हो।
अर्जेन्टिना पहिलो सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
गत वर्ष पनि अर्जेन्टिना र चिली फाइनलमा पुगेका थिए। जहाँ अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले पहिलो पटक कोपा उपाधि जितेको थियो।
प्रतियोगितामा सामान्य सुरुवात गरेको चिलीले यस पटक फाइनलसम्म आइपुग्ने क्रममा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। क्वाटरफाइनलमा मेक्सिकोलाई ७–० ले पराजित गरेको चिली सेमिफाइनलमा मुख्य खेलाडी अर्टुरो भिदाल बिनै मैदान उत्रिएको थियो।
तर कोलम्विया विरुद्ध सुरुवात देखि नै आक्रमक प्रदर्शन गरेको चिलीले खेलको ७ औं मिनेटमै अग्रता लिएको थियो। चार्ल्स अराङगुएजले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि नै जोस फुएन्जालिडाले गोल गर्दै चिलीको अग्रता दोब्बर पारे।
पहिलो हाफमा दुई गोलले पछि परेको कोलम्वियालाई दोस्रो हाफमा अर्को झड्का लाग्यो। ५७ औं मिनेटमा कार्लोस अल्बर्टो सान्चेज दोहोरो पँहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि कोलम्विया दश खेलाडीमा झरेको थियो।
त्यसपछि चिलीले त्यसको फाइदा उठाउन सकेन र दुवैतर्फबाट कुनै नहुँदा चिली २–० ले विजयी हुँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो।
पानि परेर मैदान भिजेपछि दाेस्राे हाफकाे खेल ढिला गरि सुरु भएको थियो।
सयौं वर्षगाँठको अवसर पारेर पहिलो पटक दक्षिण अमेरिकी महादेश बाहिर भएको ४५ औं संस्करणको फाइनल सोमबार बिहान ५ः४५ बजे हुनेछ।
यस्तै तेस्रो स्थानको लागि अमेरिका र कोलम्वियाबिच आइतबार बिहान ५ः४५ बजे प्रतिस्पर्धा हुनेछ।