
काठमाडौं : नेपाली कांग्रेसले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ।
केही बेरअघि सम्पन्न कांग्रेस संसदीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।
भूकम्पपीडितलाई सरकारले एकमुष्ट दुई लाख रुपैयाँ प्रदान गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेसले संसदमा आवाज उठाइरहेको छ। 'सरकारले हाम्रो कुराको सुनुवाइ नगरेकाले संसद अवरुद्ध गर्ने निर्णयमा पुगेका हौं,' संसदीय कार्यसमितिका सदस्य राजीवविक्रम शाहले भने।
यसअघि संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नो माग सम्बोधन नगरिए संसद अवरोधदेखि पीडितहरुलाई लिएर जिल्ला जिल्लामा आन्दोलन गर्ने निर्णय गरेको थियो।
कांग्रेसले दुई लाख रुपैयाँसँगै कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेको २ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिने विषय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएको छ।