PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रतिपक्षले माग्यो एक घण्टा : सभामुखले तोकिन २४ घण्टा



रमेश वाग्ले

प्रतिपक्षले माग्यो एक घण्टा : सभामुखले तोकिन २४ घण्टा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई दिने भनिएको दुई लाख रुपैयाँ अनुदान एकमुष्ठ दिनुपर्ने भन्दै संसद बैठक अवरोध गर्‍यो। बैठककमा बोल्दै कांग्रेस सांसद डाक्टर प्रकाशशरण महतले भूकम्प पीडितका लागि एकमुष्ठ दुई लाख रुपैयाँ राहत नदिएसम्म सदनको काम कार्वाही संचालन हुन नसक्ने उद्घोष गरे।

उनले भूकम्प पीडितका लागि प्रधानमन्त्रीले जेठ भित्र घर बनाइसक्ने घोषणा गरेको तर अहलेसम्म एउटा पनि नबनेको कटाक्ष गर्दै सरकारको काम बोल्ने मात्र नभएको बताए। 
 
'सरकार भनेको बोल्ने मात्र हैन काम पनि गर्ने हुनुपर्छ। अहिले काम गर्ने सरकार चाहिएको छ,' महतले भने, 'तर यो सरकार बोल्छ मात्र काम गर्दैन। भूकम्प पीडितलाई जेठभित्र घर बनाइसक्ने भनेर प्रधानमन्त्री बोल्नुभयो तर अहिलेसम्म एउटा पनि घर यो सरकारले बनाएको छैन।' उनले त्यति मात्र नभएर सरकारको नियत ठिक नभएका कारण भूकम्प पीडितले दुःख पाएको बताए।

'सरकारले ३१ जिल्लामा भूकम्प पीडित रहेकोमा अहिलेसम्म ११ जिल्लाको मात्र क्षतिको तथ्यांक संकलन गरेको छ,' उनले भने, 'त्यही संकलित तथ्यांक पनि राजनीतिक आस्थाका आधारमा विभेद गरिएको छ।' उनले एमालेका विभागमा बसेकाहरु अधिकांश ठाउँमा विज्ञ नियुक्त भएको भन्दै एनजीओका नाममा पनि पनि एमालेकरण भएको बताए। 'त्यो हर्ड भन्ने संस्थाका नाममा एमालेका कार्यकर्ताहरु मात्र नियुक्त भएका छन्,' महतले भने।

सरकारले भनेका कुरा पनि नगरेको र अहिले पनि बोल्ने मात्र काम गरेको भन्दै पीडितले राहत पाउने अवस्था नहुँदासम्म बैठक चल्न नसक्ने भन्दै आजैबाट अबरोध हुन् बताए।

कांग्रेस सांसदहरु उठे र संसद बैठक अवरुद्ध भयो।

सभामुख ओनसरी घर्तीले समयमै बजेट आएका कारण जनता खुसी भएको भन्दै त्यसलाई समयमा पारित गर्न बजेटका विनियोजन शीर्षकमाथिको छलफल आवश्यक भएकाले जिम्मेवार प्रतिपक्षबाट सहयोगको अपेक्षा गरेको बताइन्।

'माननीय सदस्यहरु अहिले बजेट समयमै आएका कारण जनता खुसी छन्। त्यो बजेटलाई कार्यान्वयन गर्न विनियोजन शीर्षकमाथि छलफल गर्नुछ,' सभामुख घर्तीले भनिन्, 'त्यसैले जिम्मेवार प्रतिपक्षले सदनको काम कार्वाहीमा सहयोग गर्ने मेरो अपेक्षा छ।'
 
उनले भूकम्प पीडितका विषयमा सरकारले भोलि नै सदनलाई जानकारी गराउनेबारे आफूलाई जानकारी गराएको भन्दै त्यतिन्जेलसम्म कुरिदिन आग्रह गरिन्।

उठेर बैठक अवरोध गरिरहेका प्रतिक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेत चीनकाजी श्रेष्ठले माइक ताने र सभामुख घर्तीले उनलाई समय दिइन्।

'सरकारका तर्फबाट भूकम्प पीडित नागरिकलाई तत्काल एकमुष्ठ दुई लाख क्षतिपूर्ति दिने प्रतिबद्धता जनाउनुहोस् हामी अवरोध गर्ने पक्षमै छैनौ,' श्रेष्ठले भने, 'त्यसैले एक घण्टाभित्र प्रधानमन्त्रीले जवाफ दिनुहोस् हामी सदनको अवरोध खोलेर विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिन्छौं।'

सभामुख घर्तीले कांग्रेस सांसद्हरुलाई बस्न आग्रह गरिन् तर श्रेष्ठको जवाफ खोज्ने प्रयास गरिनन्। 'माननीय सदस्यहरु तपाईँहरु उठेको अवस्थामा सदनको काम कारवाही संचालन हुन सक्दैन त्यसकारण यो बैठक शुक्रबार बिहान ११ बजे सम्मका लागि स्थगित हुन्छ,' उनले भनिन्।

(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell