PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कविता महोत्सवमा प्रधानमन्त्रीले भने- 'नेपाल आशुकविहरुको देश हो'



पहिलोपोस्ट

कविता महोत्सवमा प्रधानमन्त्रीले भने- 'नेपाल आशुकविहरुको देश हो'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले 'गाउँपिच्छे र घरैपिच्छे कविहरु भएकाले नेपाल आशुकविहरुको देश भएको' बताएका छन्।
 
नेपाल प्रज्ञा प्रतिष्ठानको ५९औं वार्षिकोत्वसका अवसरमा आयोजित 'राष्ट्रिय कविता महोत्सव' उद्घाटन क्रममा बोल्दै ओलीले देशको वातावरण नै सिर्जनात्मक भएकाले विविध साहित्यको सिर्जना भइरहेको बताए।
 
लिपि सुरु हुनुभन्दा अघिदेखि नै पुर्खाहरुमा ज्ञानको संग्रह रहेको र सोही श्रुति परम्परामार्फत पछि साहित्यमा अभिव्यक्त भएको उनको भनाइ थियो।
 
'पहिले पढ्ने स्कुल नहुँदा घाँस काट्दै, गाईभैंसी चराउँदै मौलिक गीत, कविता सिर्जना हुन्थे,' प्रधानमन्त्री ओलीले भने, 'त्यसैले कविता आजको आविष्कार होइन।'
 
बारीमा मकै छरेजस्तो साहित्यले चाँडै प्रतिफल नदिने भन्दै उनले समाजमा पार्ने प्रभावकै आधारमा साहित्यको महत्व रहने प्रस्ट पारे।
 
कविताको विम्ब, प्रतीक र यसका लेखन शैलीबारे समेत चर्चा गरेका प्रधानमन्त्रीले राणाकाल र पञ्चायतकालमा भन्दा लेख्नका लागि अहिले खुला वातावरण बनेको बताए। 'त्यस बेलाको साहित्य विम्बमा लेखिन्थ्यो र अर्थ खोजिन्थ्यो,' उनको टिप्पणी थियो, 'अहिले जे लेख्न पनि छुट छ, विम्ब-प्रतीक घुसाइरहनु पर्दैन। त्यही भएर पनि कवितामा कलात्मकताको खतरा पनि देखिन्छ।'
 
पुर्खाहरु विद्वान भएकैले नेपाल हजारौं वर्षअघि पनि दुनियाँभन्दा अगाडि रहेको भन्दै प्रधानमन्त्रीले कविता, लोकगीत, दोहोरीबारे संक्षिप्तमा चर्चा गर्न भ्याए। धेरै चिन्तनले नभई मानवीय संवेदनाले जन्मिने दोहोरीमा छुट्टै स्वाद आउने उनको भनाइ थियो।
 
कार्यक्रममा उनले आफूले धेरैअघि सुनेको भन्दै लोकभाकाको एक अंश पनि सुनाउन भ्याए-

जहाँ टेक्यो त्यहीँ पहिरो जाने
को छ मेरो कटक्कै मन खाने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell