PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​विज्ञ नजर : मेसी म्याचविनर बन्न सक्छन् कोपा अमेरिका फाइनलमा



पहिलोपोस्ट

​विज्ञ नजर : मेसी म्याचविनर बन्न सक्छन् कोपा अमेरिका फाइनलमा

अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको उपाधिका लागि अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टीम लगातार दोस्रो पटक फाइनलमा भिड्न लागेका हुन्। गत वर्ष पनि यी दुई बीच भएको फाइनलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेको थियो। त्यसैले पनि यो पटक अर्जेन्टिनाको लागि चिलीविरुद्ध बदला लिने मौका मिलेको छ। लगातार तेस्रो पटक ठूला प्रतियोगिताको फाइनल पुगेको अर्जेन्टिना र मेसी यो पटक उपाधि जित्दै २३ वर्षे खडेरी तोड्ने तयारीमा छन्।
कस्तो हुनेछ त फाइनल खेल? कसको सम्भावना बढी छ? ब्राजिल र उरुग्वे जस्ता टीम किन समूह चरणबाटै बाहिरिए? त्यसबारे फुटबल विश्लेषण सन्जीव मिश्रको धारणा यस्तो छ।
 
लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनल खेल्न लागेका अर्जेन्टिना र चिली बीचको खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ। अर्जेन्टिनाका लियोनल मेसी र गोन्जालो हिग्वेन अहिले उत्कृष्ट फर्ममा छन्। यता चिलीले मेक्सिको विरुद्धको क्वाटरफाइनलमा ७ गोल गर्दै आफ्नो क्षमता देखाइसकेको छ।

मेसी र हिग्वेनको फरवार्ड लाइनअप यो पटक खुब जमेको छ। विशेष गरी पछिल्ला खेलहरुमा। एउटाले गोल गर्न नसके अर्कोले गोल गर्दै खेल जिताउँदै आएका छन्। यी दुईको तालमेल उत्कृष्ट छ। फाइनलमा मेसी नै खेलको मुख्य केन्द्रविन्दुका रुपमा रहनेछन्। उनैको प्रदर्शनमा अर्जेन्टिनाको प्रदर्शनसमेत निर्भर रहनेछ।

अर्को पक्ष भनेको मेसी र हिग्वेनसँगै खेल्दा एउटाले गोल गर्न नसके पनि अर्कोले गोल गर्न सक्ने सम्भावना बढी हुन्छ।
यता समूह चरणको पहिलो खेलमा अर्जेन्टिनासँगै हारे पनि चिलीले त्यसपछिका खेलमा सुधार गरेको छ। बोलिभियालाई अन्तिम समयमा पराजित गर्दै क्वाटरफाइनल पुगेको चिलीले मेक्सिकोलाई ७–० को एकपक्षीय नतिजामा हराउँदै आफ्नो क्षमता देखाएको छ। मेक्सिकोको २२ खेलको अपराजित यात्रालाई समेत पूर्णविराम लगाउने उक्त नतिजा विश्व फुटबलमा आफैँमा अविश्वसनीय प्रदर्शन हो। यस्तो नतिजा निकाल्ने टीमलाई नराम्रो भन्न मिल्दैन र जुनसुकै समयमा पनि खेल परिवर्तन गर्न सक्छ। चिलीले सेमिफाइनलमा पनि कोलम्विया जस्तो उत्कृष्ट राष्ट्रलाई हरायो।

यो पटक पनि मेसी र हिग्वेन जस्ता खेलाडीलाई रोक्दै काउन्टर अट्याकमा गएर गोल गर्ने चिलीको रणनीति हुनेछ। निर्धारित समयमा अर्जेन्टिनालाई बराबरीमा रोक्दै पेनाल्टी सुटआउटमा लान सके खेल आफ्नो पक्षमा पार्न सक्ने चिलीको योजना छ।

मेरो विचारमा पनि ९० मिनेटभित्र रिजल्ट निकाले अर्जेन्टिनाले उपाधि जित्नेछ। यदि ट्राइबेकरमा गयो भने चिलीको सम्भावना बढी छ।
 

ब्राजिली फुटबल ओरालोतर्फ

एक जमाना थियो फुटबल र ब्राजिलको नाम सँगसँगै आउने गर्थ्यो। फुटबल र ब्राजिल एक अर्काका पर्यायवाची शब्द नै बनिसकेको थियो। तर केही वर्ष यता हेर्ने हो भने यो परिभाषा फेरिएको छ। यसले के संकेत गर्छ भने ब्राजिलियन फुटबल ओरालो लाग्ने क्रममा छ।

ब्राजिलको फुटबलमा अहिले व्यापक भ्रष्टाचार छ। ब्राजिलियन फुटबल संघका अध्यक्ष एफबिआईले समात्छ भनेर अमेरिका नै गएनन्। तीन पूर्व अध्यक्ष अझै जेलमा छन्। यस्तै विभिन्न समस्या र भ्रष्टाचारले गर्दा ब्राजिलियन फुटबलको व्यवस्थापन कमजोर बनेको छ।

अर्को पक्ष भनेको सन् २०१४ मा घरेलु भूमिमै भएको विश्वकपमा ब्राजिलले जर्मनी विरुद्ध ७–१ को हार आत्मसात् गर्‍यो। त्यो किसिमको नतिजा ब्राजिलियन फुटबलमै ठूलो पराजय थियो जसले गर्दा ब्राजिलियन फुटबलमा नैराश्यता छायो। अनि फुटबलमा खराब दिनको सुरुवात भयो।

ब्राजिलका खेलाडीहरुले अहिले पनि क्लब स्तरमा राम्रो खेलिरहेका छन् तर राष्ट्रका लागि खेल्दा भने यिनै समस्याका कारण स्वभाविक रुपमा प्रस्तुत हुन सकिरहेका छैनन्।

विगतमा ब्राजिलियन खेलाडीले सिर्जना गर्ने हरेक मुभ गोलमा परिणत हुने सम्भावना हुन्थ्यो, जुन अब रहेन। वर्तमान समयमा ब्राजिलियन फुटबल केही कमजोर बनेको छ भने अन्य राष्ट्रहरुले फुटबलमा राम्रो गर्दै आइरहेका छन्।

यति मात्र होइन ब्राजिलियन फुटबल विश्वकप छनोटमा समेत अझै कमजोर बन्दै गएको छ। सन् २०१८ मा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल अहिले शीर्ष पाँचभन्दा बाहिर छ। दक्षिण अमेरिकी छनोटबाट शीर्ष चारमा रहने सिधै विश्वकपमा छानिनेछ भने पाँचौ स्थानको टीमले प्लेअफ खेल्ने अवसर पाउनेछ।  यदि यही किसिमले ब्राजिलको फुटबल अगाडि जाने हो विश्वकपमा छनोट हुन समेत कठिन स्थिति आउन सक्छ। पहिलो पटक ब्राजिल विश्वकप खेल्न बाट बन्चित हुने सम्भावना समेत बढ्नेछ।

ब्राजिली फुटबलको म्यानेजमेन्टमै समस्या छ। सही खेलाडीहरुलाई सही रुपमा परिचालन गर्न सकिरहेको छैन। कोपा अमेरिकामा पनि ब्राजिलले मुख्य खेलाडी नेमारलाई टीममा राखेन। राम्रो खेलाडीहरुलाई पनि मुख्य प्रतियोगितामा टीम बाहिर राखिएको छ। यसरी नै फुटबललाई अगाडि बढाइरहने हो भने विश्व फुटबलमा ब्राजिल मात्रै मुख्य शक्तिका रुपमा रहने छैन। उसलाई अरु राष्ट्रले पछाडि छाड्नेछ। दक्षिण अमेरिकामै पनि ब्राजिललाई अन्य राष्ट्रले पछाडि पारिसकेको छ।


 

सुवारेजको अनुपस्थिति उरुग्वेलाई घातक

उरुग्वेको फुटबलमा अहिले लुइस सुवारेज स्टार नाम हो। कोपा अमेरिका अगाडि उनी पूर्ण रुपमा फिट थिएनन्। तर प्रतियोगिता खेल्ने उनको सम्भावना कायमै थियो। तर समूह चरणको दुई खेलमा सुवारेजले खेल्ने अवसर पाएनन्। सुवारेजको अनुपस्थिति नै उरुग्वे समूह चरणबाट बाहिरिने मुख्य कारण बन्यो। सुवारेज उरुग्वेली टीमको इन्फ्लुयन्सियल र इन्सपिरेसनल प्लेअर हुन्। उनको अभाव उरुग्वेको टीममा प्रष्टै देखियो। यदि सुवारेज विपक्षी विरुद्ध मैदान उत्रेका भए खेलको नतिजा नै बेग्लै हुने थियो र उरुग्वे समूह चरणबाटै घर फर्कनुपर्ने थिएन। यही नै उरुग्वेका लागि एक्स फ्याक्टर बन्यो।

 

मेसीलाई अन्तिम मौका

लियोनल मेसीले क्लब फुटबलमा सबै उपलब्धि हात पारिसके। युरोपियन फुटबलमा स्पानिस क्लब बार्सिलोनाबाट खेल्ने मेसीले सबैखाले प्रतियोगिताको उपाधि जितिसके भने पाँच पटक फिफा वर्ष खेलाडीको अवार्ड हात पारिसकेका छन्। तर अहिलेसम्म अर्जेन्टिनाका लागि भने मुख्य उपाधि जिताउन सकेका छैनन्। अब आउने प्रतियोगिताहरुमा उमेरका कारण पनि मेसीले अहिलेकै जस्तो प्रदर्शन गर्नसक्ने छैनन्। त्यसैले मेसीको लागि अर्जेन्टिनालाई उपाधि दिलाउने यो सुनौलो मौका समेत हुनेछ।

कोपा अमेरिका सुरु हुनुअघि केही अनफिट रहेपनि अहिले मेसी पूर्ण रुपमा फिट छन्। गोल पनि गरिरहेका छन् र अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरे। फाइनलमा पनि चिलीलाई हराउँदै उपाधि जित्नैपर्ने दबाब मेसीका लागि छ। निश्चय पनि मेसी इज मेसी एण्ड हि इज एभ्री गेम म्याच विनर। म्याच विनर भएकै कारण मेसीलाई विपक्षी खेलाडीले मार्क गर्दा अन्य खेलाडीले गोल गर्ने मौका प्राप्त गर्नेछन्। लगातार तेस्रो पटक फाइनल खेल्दै गर्दा यो पटक अर्जेन्टिनाले चिलीलाई हराउँदै उपाधि जित्ने सम्भावना बढी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell