
काठमाडौं : बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरु अमिलो मन लिएर उभिएका थिए। झरीले राजधानीको मुहार अँध्यारो बनाएको थियो भने मानिसका मन सोमबार अफगानिस्तानको विस्फोटले। नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट १२ जनाको शव नेपाल भित्रिँदै थियो। विस्फोटमा १३ नेपाली मारिएका थिए। अफगानिस्तानबाट आएकालाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्रीदेखि मन्त्रीहरु र आफन्तहरु मलिन मुद्रामा उपस्थित थिए।
बुधबारको दृश्य र प्रधानमन्त्रीको उपस्थिति तथा नेपाल वायुसेवा निगमको तदारुकताका कारण फरक देखिए पनि नेपाली समाजका लागि यो कुनै ठूलो घटना होइन। विमानस्थलमा १२ जनाको शव ‘टीप अफ आइसबर्ग’ मात्रै हो, भित्र कति भीमकाय हिउँको ढिक्का छ अनुमान गर्न सकिन्न। सरकारी तथ्याङ्क भन्छ – दैनिक ३ लाश बाकसमा मुलुकमा अवतरण हुन्छ यही विमानस्थलबाट। रोजगारीका लागि यहीबाट विदेशतिर दैनिक उड्ने १ हजार ६ सयमध्ये औसतमा दैनिक ३ जना लाश बनेर फर्किन्छन्।
अफगानिस्तानमा मारिएका यी बाहेक मारिनेहरु समाचारसमेत बन्दैनन्। न त सबै शव नेपालसम्म ल्याइन्छन् नै। ‘मृत्यु भएकामध्ये क्षतिपूर्ति नलिनेको रेकर्ड राखिँदैन,’ वैदेशिक रोजगार तथा पर्यटन प्रवर्द्धन बोर्डका सूचना अधिकृत दीपेश पौडेल भन्छन्, ‘त्यसैले यहाँ फर्किने लाशहरुको सूची यतिमै पूर्ण छैन।’
गत आर्थिक वर्ष २०७१/७२ मा १ हजार ४ जनाको यसैगरी लाश भित्रिएको रेकर्ड बोर्डसँग छ। त्यस्तै चालु आर्थिक वर्ष २०७२/७३ मा मात्र ७ सय १६ जना युवाको विदेशमा काम गर्ने क्रममा नै मृत्यु भएको छ। गएको जेठ महिनामा मात्र ६१ जना युवाको मृत्यु भएको थियो। वैशाखमा यो सङख्या २ जनाले बढी अर्थात् ६३ थियो।
नेपालबाट दैनिक १ हजार ६ सय युवा रोजगारीका लागि विदेशिने गर्छन्। देशमा रोजगारी नभएपछि जोखिम मोलेर नै विदेशिनु परेको पीडा काबुलबाट फर्केका युवाहरुले सुनाएका थिए बुधबार। वैदेशिक रोजगारमा गएका युवाहरु मध्ये मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी मलेसियामा रहेको छ।
मलेसियाबाहेक कतार, साउदी, दुवई लगायतका खाडी मुलुकहरुमा युवाको मृत्यु हुने गरेको छ। जापान र कोरियामा काम गर्न गएकाहरु पनि मरेका छन्।
दैनिक ३ वटा लाश देश फर्काइने गरेको भए पनि उनको मृत्युको कारण भने प्रष्ट अझै खुल्न सकेको छैन। धेरैजसो मृत्युको कारण हर्ट अट्याक नै भएको रिपोर्ट आउने गरेको वैदेशिक रोजगार तथा पर्यटन प्रर्वद्धन बोर्डले जनाएको छ। हर्ट अट्याक बाहेक कार्यस्थलमा काम गर्दा, ट्राफिक दुर्घटनाका कारण पनि युवाको मृत्यु हुने गरेको छ।
विदेशमा मृत्यु भएपछि स्वदेशमा शव झिकाउन झनै समस्या छ। मृत्यु भएपछि वैदेशिक रोजगारमा पठाउने म्यानपावर व्यवसायी र सरकारले पनि चाखो नदिँदा मृतकका आफन्तले समस्या भोगिरहेका छन् हरेक दिन।
यसरी मृत्यु भएकालाई नेपाल भित्र्याउन उत्तिकै समस्या छ। छिटो ल्याउन सक्नेले एक महिना त कुर्नै पर्छ। नसक्नेका लागि दिनहरु जतिसम्म पनि थपिँदै जान्छ। र, कतिको प्रयास त असफलता मात्रै भोग्ने हुन्छ।
मृत्युपछि पाउने क्षतिपूर्ति, बिमाको समस्या ज्युँका त्यूँ नै छ। ठूला घटनाहरु हुँदा चासो देखाए झै गर्ने तर त्यसपछि मौन बस्ने सरकारी प्रवृत्ति
सँधै हावी छ। त्यसैले त हरेक दिन कम्तिमा ३ वटा लाश देश फर्किन्छ तर सरकारको ध्यान त्यतिखेरमात्र खुल्छ जतिखेर यो विषयले अन्तर्राष्ट्रिय ध्यान खिच्छ। के नेपालीको लाश विदेशीको ध्यान खिच्नकै लागि मात्र हो?