भक्तपुर : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारले भूकम्पपीडितका नाममा राहत उपलब्ध गराउनेभन्दा पनि कार्यकता पोषण गरेको आरोप लगाएका छन्।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्राधिकरणले कुनै काम नगरेको र सरकारले आफ्ना कार्यकर्ता भरणपोषणमा लागेकोमा असन्तुष्टि व्यक्त गरे। भूकम्पपीडितका सवालमा जेठसम्म छानो उपलब्ध गराउने प्रधानमन्त्रीको भनाइ उखान-टुक्का र मनोरञ्जनमै सीमित बनेको उनको भनाइ छ।
'सरकारले पीडितका हकमा जतिसक्दो छिटो बासको बन्दोबस्ती गर्ने प्रतिबद्धता संसदमा पेश गर्दैन तबसम्म कांग्रेसले संसद अवरुद्ध गर्दै पीडितको आवाज उठाइरहन्छ,' उनले भने, 'सरकार कूटनीतिक पक्षमा पूर्ण रुपमा असफल भइसक्यो। सरकारको नेतृत्वले कामभन्दा पनि नेपालीलाई मनोरञ्जन दिइरहेको छ।'
प्राधिकरणको विधानमै अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्षमा प्रमुख प्रतिपक्ष रहने भए पनि हालसम्म कुनै बैठकको आह्वान नगरेकोमा कांग्रेसको विरोधपश्चात् पहिलो बैठकको आह्वान गरिएको महतको भनाइ छ।
'कांग्रेसलाई समर्थन गर्ने जनाएका प्रचण्डमा पछि परिवर्तन देखियो,' अर्को प्रसंगमा उनले भने, 'यही कारण तत्काल सरकार परिवर्तन नभएको हो। कांग्रेससँग बहुमत नभएकाले पनि सरकार टिकिरहेको छ।'