आइफोन सिक्स–एसको स्क्रीनमा कनिका चार्लीलाई खोज्दै थिइ। मेसेन्जर, व्हाट्सअप, भाइवर, स्काइप चार्ली कतै थिएन। कनिका मुर्मुरिदै थिइ, ‘यस्तो हप्ताको चार दिन बेपत्ता हुने मानिसलाई दुई वर्ष कसरी पर्खिनु?’ भन्न त जिन्दगी भरि पर्खिन्छु भनी हाली । तर, अहिले उसलाई लाग्न थालेको थियोे, यो सम्भव कुरा होइन। च्याटमा बोले पनि, अनुहार हेरेपनि, शरीरको न्यानोपन र श्वास–प्रश्वासको अनुभूति नभएसम्म ब्वाइफ्रेण्डको के मतलब? सबभन्दा ठूलो कुरा नै फिलिङ हो। त्यही मिस भएपछि एकोहोरो भावनाको के अर्थ? मोवाइलको स्क्रीनमा ऊ चार्लीसँग खिलखिलाएर हाँस्न सक्थी, तर लुटपुटिन सक्दिनथी। बेला बेलामा उसको मन उच्चाट्टिन्थ्यो र बेला बेलामा ऊ आफूलाई सम्हाल्ने कोशिश गर्दथी। तर, त्यो कोशिश ढलपलिन्थ्यो।
जतिबेला कनिकाले चार्लीलाई पर्खिने अठोट गरेकी थिइ, त्यतिबेला घरमा उसको ग्य्राण्डमा आएकी थिइन। उनी आएपछि उसको बिहेको चर्चा चल्ने गर्दथ्यो। उसलाई यो चर्चाको बारेमा थाहा थियो। तर उ थाहा नपाएझैं गरी दिन्थी। ऊ ग्य्राण्डमाको मन दुखाउन चाहन्नथी। ग्य्राण्डमा उसलाई माया गर्दथिन् र उसका हरेक माग पूरा गरिदिन्थिन्। मोडर्न बाबु–आमाको एउटै छोरी, खूब पुलपुलिएकी थिइ कनिका।
बाबु–आमा जतिसुकै मोडर्न र वेष्टर्नाइज्ड भएपनि नेपाली समाजमा बिहेको अनिवार्यता स्थापित छ। कनिकाकी ग्य्राण्डमा चार वर्षदेखि उसको बिहेको लागि छोरा बुहारीसँग कराइरहेकी थिइन्। उनी आफनो मौजामा बस्थिन्। परिवारको पुस्तैनी सम्पन्नताको प्रतीकका रुपमा रहेको साँचो झुत्ता उनकै कम्मरमा झुण्डिएको थियो। वर्षको सात दिन उनी काठमाडौं बस्न आउँथिन्। छोरा बुहारीले माने पनि नमाने पनि परिवारको हर्ताकर्ताका रुपमा चिनिन्थिन् उनी। एकमात्र नातिनी कनिकाको बिहेका लागि गर–गहनाको जुुगाड गरिसकेकी थिइन। कनिकाका बाबु–आमा दुवै कामकाजी थिए। उनीहरु आफैंले कमाएको सम्पत्ति पनि कुस्त थियो। उनीहरु दुवैजना कनिकाको बिहेका लागि हतारिएका थिएनन्। कनिकाले पढोस् र आफनो लागि आफैं केटो खोजोस् भन्ने चाहना थियो उनीहरुको। आमाको प्रेसरले बाबु अलिकति छटपटाएका थिए। तर, पत्नीले सहमतिमा टाउको नहल्लाएसम्म उनी कुनै निर्णय लिन सक्दैनथे। यसपटकको कान्तिपुर बसाइमा पनि ग्य्राण्डमाले नातिनीको बिहेको कुनै निष्कर्ष निकाल्न सकिनन्। सात दिनको बसाइपछि उनी मौजा फर्किइन्।
कनिका पढ्नभन्दा कलेज बंक गरेर हिंड्न मन पराउँथी। ‘दिस इज आवर लाइफ’ म्यूजिकल व्याण्डकी टिम लिडर थिइ ऊ। कहिलेकाहीं गीत लेख्दथी। तर, उसका शव्दहरुमा दम हुँदैनथे। उसका साथीहरु ‘वाउ, व्यूटीफूल’ भन्थे र ऊ साथीहरुलाई बर्गर–पिज्जा खुवाएर रमाउँथी। जतिसुकै कलेज बंक गरे पनि ऊ एक्जाममा राम्रै गर्थी। फेल भएकी थिइन। ऊ स्वतन्त्र थिइ, जंगलको चरी जस्तै स्वतन्त्र। केटा साथीहरु फेरिरहने र केटी साथीहरुसँग झगडा गरिरहने स्वभाव थियो उसको। चार्लीसँगको संगतले उसको स्वभावमा परिवर्तन आउन थालेको थियो। चार्ली हिंडेपछि उसलाई आफनो बाटो पहिल्याउन गाह्रो परेको थियो। केही दिन उसले आफूलाई स्मोकिंगमा भुलाउन खोजी। केही दिन लेटनाइट पार्टीमा टकिला तान्दै नून चाटेर आफूलाई अल्मल्याउन खोजी। तीन दिन पोखरामा बिताइ। दुई दिन शान्तिको खोजमा लुम्विनी पुगी। कतै गएर पनि रिल्याक्स नभएपछि ऊ घर फर्किइ। सोची, बरु घरै राम्रो।
उसको फोनमा मेसेन्जरको ट्यून बज्यो। हतार हतार ऊ कनेक्ट भइ। स्क्रीनमा चार्ली हाँसी रहेको थियो। कनिका बोली, ‘मलाई स्क्रीनको तिमीले पुग्दैन। तिमीलाई स्क्रीनमा हेरेर म दुई वर्ष बिताउन सक्दिनँ।’
चार्लीले जिस्क्यायो, ‘त्यसो भए म हराउँ त तिम्रो स्क्रीनबाट ?’
कनिका आत्तिइ, ‘के रे, के रे, मार्दिन्छु म तिमीलाई ।’
चार्लीले कनिकाको हताशा बुझेको थियो । उसले भन्यो, ‘मलाई नमार । भैगो अब दुई वर्ष होइन, दुई महिनामात्र पर्ख।’
कनिकाले पत्याइन । सोधी, ‘साँच्चै कि ?’
चार्लीले टाउको हल्लायो । त्यसपछि क्यारेमेल केकको प्लेट देखाएर भन्यो, ‘म फर्किएपछि खाउँला है?’
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
यो सिरिजका अन्य गाथा-