
फ्रान्समा जारी युरो २०१६ अन्तर्गत नकआउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन्।
कुल २४ टोलीले भाग लिएको प्रतियोगितामा समूह चरण पार गर्दै १६ टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाएका हुन्। पहिलो पटक २४ टोलीको सहभागिता रहेकाले यसपटक युरोमा नयाँ फर्म्याट लागू भएको हो। २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो। जसबाट समूह विजेता र उपविजेता बनेका १२ टोली सिधै अन्तिम १६ मा छनोट भए भने समूह चरणमा तेस्रो स्थानमा रहेको ६ मध्ये उत्कृष्ट ४ टोली पनि नकआउट चरणमा स्थान बनाउन सफल रहे।
सहभागी टोली बढेसँगै यसपटक अन्तिम १६ अर्थात् प्रिक्वाटरफाइनल चरण पनि थपिएको छ। आज प्रिक्वाटरफाइनलमा ३ खेल हुनेछन्।
पहिलो खेलमा बेलुका ६:४५ बजे स्विट्जरल्याण्ड र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। स्विट्जरल्याण्ड समूह ए को उपविजेता तथा पोल्याण्ड समूह सी को उपविजेता बन्दै अन्तिम १६ मा छनोट भएको हो। दुवै टोली पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेका हुन्। त्यसैले पनि जित्ने टोली पहिलो पटक युरो कपको क्वाटरफाइनलमा पुग्नेछ।
दोस्रो प्रिक्वाटरफाइनल राति ९:४५ बजे हुनेछ। जसमा वेल्स र उत्तरी आयरल्याण्ड भिड्दैछन्। ग्रेट ब्रिटेन अन्तर्गतका यी दुवै टोलीले यसै संस्करणमार्फत युरोकपमा डेब्यु गरेका हुन्। वेल्स समूह बी को विजेता तथा उत्तरी आयरल्याण्ड समूह सी को तेस्रो स्थानमा रहँदै अन्तिम १६ का लागि छानिएको हो।
यस्तै तेस्रो प्रिक्वाटरफाइनलमा मध्यराति १२:४५ बजे क्रोएसिया र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। क्रोएसिया डिफेन्डिङ च्यापिम्पयन स्पेन रहेको समूह डी बाट विजेता बन्दै अन्तिम १६ मा पुगेको हो भने पोर्चुगल समूह एफको तेस्रो स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको हो। यी दुईबीचको विजेताले क्वाटरफाइनलमा स्विट्जरल्याण्ड र पोल्याण्डबीचको विजेतासँग खेल्नेछ।